कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनसान छठघाट

छठमा झकिझकाउ हुने घाटहरु कोरोना संक्रमण फैलिने जोखिमका बीच यस वर्ष सजाइएन । भक्तजनहरुको उपस्थिति पनि न्यून रह्यो । अधिकांश व्रतालुले घरमै पूजाअर्चना गरे ।
शंकर आचार्य

पर्सा — वीरगन्जको पुरानोमध्येको तेजारथ टोल छठघाटमा यो वर्ष न कुनै सजावट भयो, न व्रतालु नै आए । पहिलो पटक छठमा यो घाट व्रतालुविहीन देखेको स्थानीय विदुर गौतम बताउँछन् । ‘यो घाटमा २५ वर्षयता निरन्तर व्रतालुको भीडभाड देख्थें,’ उनले भने, ‘यस वर्ष न त घाट सजाइयो, न व्रतालु नै आए ।’

सुनसान छठघाट

वीरगन्ज–५ कुम्हालटोलकी ४५ वर्षीया व्रतालु प्रतिमादेवी राजपुतले यो वर्ष घरमै छठ पूजा गरेकी छन् । विगतका वर्ष नजिकका छठघाटमा गएर पूजा गर्दै आएकी उनले यो वर्ष कोरोना महामारीका कारण घरमै पूजा गरेकी हुन् । ‘कोरोनाको डर, त्यसमाथि घाटहरू नसजाइएकाले त्यहाँ जानेरनजानेमा पनि धेरै व्रतालुलाई अन्योल भयो,’ उनले भनिन्, ‘सबैजसोले घरमै सुरक्षित रूपमा पूजापाठ गरियो ।’

चार वर्षयता मुर्लीकी व्रतालु मनीषा लामिछानेले छठमा घरमै पूजा गर्दै आएकी छन् । यस पटक कोरोना महामारीका कारण छठ पूजालाई घरमै निरन्तरता दिन उनलाई झन् सहज भयो । ‘घाटमा भीडभाड गर्नु र जानु सुरक्षित नदेखेर मैले घरमै पूजा गर्ने परम्परालाई निरन्तरता दिएकी हुँ,’ उनले भनिन् ।

यहाँका कतिपय स–साना घाटमा यस वर्ष व्रतालु नै आएनन् । ठूला घाटहरूमा पनि भीडभाड कम भयो । सर्वाधिक भक्तजनको घुइँचो लाग्ने घडिअर्वा पोखरीमा पनि चहलपहल निकै कम देखियो । अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशत मात्रै भक्तजन स्नानका लागि आएका पोखरीको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम साह कानु बताउँछन् । ‘यस पटक विगतको जस्तो भव्य रूपले घाटको पनि सजावट गरिएन,’ उनले भने, ‘व्रतालु र भक्तजन पनि थोरै संख्यामा आए ।’


गौरीघाटमा सूर्य उपासना गर्दै । तस्बिरहरू : हेमन्त श्रेष्ठ

विगतका वर्षमा व्रतालुका आफन्त तथा चेलीबेटीहरू छठको मुखमा घर र माइत फर्किने गरेका थिए । विवाह भई भारतमा रहेका अधिकांश चेलीबेटीहरू कोरोना महामारीका कारण फर्किन सकेनन् । महामारीले पर्वको रौनक र घाटहरूमा भीड कम देखिए पनि व्रतालु र भक्तजनको आस्था, पूजाआराधना र पर्वको धार्मिक महत्त्वमा कुनै कमी नआएको स्थानीयको भनाइ छ । बुधबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक पूजा विधि सुरु गरेका छठ व्रतालुहरूले बिहीबार ‘खरना’ विधिअनुसार पूजा गरे । ‘रस्याउ रोटी’ नामले समेत चर्चित खरना विधिमा व्रतालुहरूले घरघरमा छठी माताको पूजा गरेर दूध र गुड हालेर पकाइएको खीर (स्याउ) र पुरी खाने चलन छ । यसकै भरमा व्रतालुहरू भोलिपल्ट दिनभर निर्जलरनिराहार व्रत बस्छन् ।


नहाखाय र खरना विधि सकेका व्रतालुहरूले शुक्रबार साँझ घरनजिकको पोखरी, नदी, सरोवरलगायत वा घरघरमा बनाएका अस्थायी छठघाटमा पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । बाँसको सुपुलीमा नरिवल, केरालगायत विभिन्न पूजा सामग्री राखी अर्घ दिने गरिन्छ । साँझमा घरघरमा गरिने कोसी भर्ने ९माटोको हात्तीलाई पूजा गर्ने० विधिले व्रतालुहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । कोसी भर्दा परिवारका सदस्य, आफन्त, छरछिमेकका व्यक्ति पनि त्यहाँ पूजाअर्चना गर्न आइपुग्छन् । व्रतालुहरूले शनिबार बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएपछि यो वर्षको छठ विधिवत् रूपमा सम्पन्न हुँदै छ ।

प्रकाशित : मंसिर ६, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?