कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रहरी हिरासतमा शंकास्पद मृत्यु

अपराध स्विकार्न प्रहरीले यातना दिएकाको आफन्तको आरोप
ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–३ वनकट्टीका बाबुलाल रैदास शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय १३ वर्षीय बालकको हत्या अभियोगमा रैदासलाई प्रहरीले पक्राउ गरेको थियो । २५ दिनदेखि उनी बाँके प्रहरीको हिरासतमा थिए ।

रैदासमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाइसकेपछि अनुसन्धानकै क्रममा थप अभद्र व्यवहारको मुद्दा दर्ता गरेको खुलेको छ । कर्तव्य ज्यान मुद्दा पुष्टि भए जन्मकैदसम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ तर अभद्र व्यवहार मुद्दामा भने १० हजार धरौटी वा एक वर्ष कैद सजाय गर्न सकिने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दा चलिसकेको अभियुक्तमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गर्नुले घटना रहस्यमय बनेको छ ।

रैदासले बालक हत्याको आरोप स्वीकार नगरेपछि प्रहरीले उनलाई हिरासतमा राख्न अभद्र व्यवहार मुद्दा दर्ता गरेको आफन्तको आरोप छ । ‘मलाई मारिदिनुस् तर मैले बालक हत्या गरेको होइन भन्दै बाबुलाल इन्कारी बयान दिन्थे । त्यसैले अभद्र मुद्दा चलाएर उनलाई हिरासतमा राखिएको थियो,’ बेतहनीका एक अगुवाले भने, ‘बालकको हत्यापछि प्रहरीले गाउँका सर्वसाधारणलाई निकै दु:ख दियो । २०/२५ जनालाई पक्राउ गर्‍यो तर हत्याको सुराक अझै भेटिएको छैन ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास खड्काले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका रैदासले घटनाको सोधपुछका क्रममा प्रहरीमाथि दुव्र्यवहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरेको दाबी गरे । ‘प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले अर्को मुद्दा चलाइएको हो,’ उनले भने तर प्रहरी हिरासतमा रहेका व्यक्तिले कसरी अभद्र व्यवहार गरे भन्ने पुष्टि उनले गर्न सकेनन् । उनका अनुसार टाउकामा बाँधेको कपडा (घुम्टो) को पासो लगाएर रैदासले शुक्रबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेका हुन् ।

तर मृतकका आफन्तले भने बालकको हत्या स्वीकार गराउन प्रहरीले यातना दिएको आरोप लगाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन् । मृतककी ७० वर्षीया आमा मात्रै छिन् । मृतकका भिनाजु पतिलाल रैदासले प्रहरीको सुरक्षा घेराभित्र आत्महत्या गर्न नसक्ने तर्क गरे । प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर पोस्टमार्टम गराएको छ । कुनै राजनीतिक दलमा नलागेका र निम्नवर्ग परिवारका बाबुलालको आत्महत्या नभई हत्या गरेको भन्दै स्थानीयले पनि छानबिनको माग गरेका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?