कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

आश्‍वासन पाए, भत्ता पाएनन्

काम छोड्ने चिकित्सकमध्ये पाँच जनाले साउनयताको र दुई जनाले चैतयताकै जोखिम भत्ता पाएका छैनन् ।
अमृता अनमोल

बुटवल — जोखिम भत्ता नपाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालका सात जना चिकित्सकले कात्तिक २६ मा काम छाडे । कोरोना विशेष अस्पतालको सेवाका लागि भर्ना भएका ती मेडिकल अफिसर दुई दिन काममै गएनन् ।

आश्‍वासन पाए, भत्ता पाएनन्

१६ आईसीयू र भेन्टिलेटरसहित ५४ बेडको अस्पतालले उनीहरूको साटो कन्सल्टेन्ट र नर्सिङ स्टाफबाट काम चलायो । चिकित्सक अभावले आईसीयूको उपचारमा समस्या भयो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले चिकित्सकहरूको जोखिम भत्ता तिहारलगत्तै पठाउने लिखित प्रतिबद्धता जनाउँदै अस्पताललाई चिकित्सकहरूलाई काममा फर्काउन निर्देशन दियो । तर चिकित्सकहरूले मानेनन् । मन्त्रालयको लिखित प्रतिबद्धता र अस्पतालको आग्रहलाई पनि बेवास्ता गरेका चिकित्सकलाई अस्पतालले विपदका बेला सेवा छोडेकाले मेडिकल काउन्सिलमा उजुरी दिने चेतावनी दियो । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले सरोकारवालाको आलोचना र मेडिकल काउन्सिलमा उजुरी दिने चेतावनीपछि चिकित्सकहरू कात्तिक २८ बाट काममा फर्केको बताए ।

काम छोड्ने चिकित्सकमध्ये पाँच जनाले साउनयताको र दुई जनाले चैतयताकै जोखिम भत्ता पाएका छैनन् । तिहारलगत्तै उपलब्ध गराउने आश्वासन दिएको प्रदेश सरकारले अहिलेसम्म पनि जोखिम भत्ता पठाएको छैन । ‘ढिलोचाँडो हो, काम गरेकाले रकम पाउँछन् । अहिले पनि होटलमा बस्न, खान दिएर काममा राखेका छौं,’ अस्पतालका मेसु डा. खनालले भने, ‘मन्त्रालयबाट रकम आउनासाथ जोखिम भत्ता उपलब्ध गराउने छौं ।’ अस्पतालले चैत १९ देखि बिरामी भर्ना थालेको थियो ।

भदौ १८ मा लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा खट्ने ५ सय ८३ जनशक्तिका लागि ३ महिनामा आवश्यक पर्ने तलब भत्तामा ३ करोड ९६ लाख ३२ हजार २ सय ८० रुपैयाँ निकासा गरेको थियो । जोखिम भत्ताका लागि कोरोना अस्पतालमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकका लागि सय प्रतिशत दिने मापदण्ड छ । अस्पतालका एक्सरेलगायतको काम र इमर्जेन्सीमा खट्नेलाई ७५ र अन्यलाई ५० प्रतिशत तोकिएको छ ।

लुम्बिनी प्रदेशमा बुटवल, भैरहवा, दाङ र नेपालगन्जमा कोरोना विशेष अस्पताल छन् । प्रदेश सरकारले तीन महिनाका लागि एकमुष्ट रकम पठाए पनि अस्पतालहरूले उक्त रकम बाँडेका छैनन् । लुम्बिनी प्रादेशिक अस्पतालले शतप्रतिशत जोखिम भत्ता पाउने ३७ जना स्वास्थ्यकर्मीलाई उक्त भत्ताबाट छुटाएको थियो । सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत मीनबहादुर घर्ती मगरका अनुसार अस्पतालले प्रशासन फाँटकालाई समेत जोखिम भत्ता दिँदा र मापदण्ड पालना नगर्दा समस्या भएको हो । साउनयताको भत्ता पनि एकमुष्ट रूपमा पठाएको र अपुग रकम पठाउने क्रममा रहेको उनले बताए ।

अस्पतालले रकम बाँडफाँट नमिलाउँदा भेरी अस्पताल बाँके र कोरोना विशेष अस्पताल दाङमा पनि जोखिम भत्ता नपाएको चिकित्सकहरूले गुनासो गरेका छन् । अब पनि रकम नपाए जुनसुकै बेला विरोधमा उत्रने भेरी अस्पतालका चिकित्सकहरूले चेतावनी दिएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?