आज सूर्य उपासनाको पर्व छठ

जितेन्द्र साह

विराटनगर — छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा यो पर्व मनाइँदै छ । बुधबार सुरु भएको यो चारदिने पर्व आज साँझपख अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

आज सूर्य उपासनाको पर्व छठ

ब्रतालुले पहिलो दिन नुहाएर खाने र दोस्रो दिनको साँझको खरना विधि घरभित्रै सम्पन्न गर्छन् । तेस्रो दिन साँझ र चौथो दिन बिहानको धार्मिक अनुष्ठानका लागि ब्रतालुहरू प्राकृतिक जलाशयको किनारमा पुग्छन् । तर यसपालि कोभिड–१९ को बढ्दो संक्रमणका कारण सामूहिक रूपले व्रत नमनाउन स्थानीय प्रशासनले सूचना जारी गरेका छन् ।

त्यसैले अधिकांश ब्रतालुहरू परिवारजनसँगै घरबाटै वा नजिकैको जलाशय किनारमा तामझाम र भिडभाड नगरी पूजा गर्दै छन् । धार्मिक मान्यता एवं लोक आस्थाअनुरूप परिवार कल्याण, रोग निदान, सन्तानप्राप्ति तथा समृद्धिको कामनासाथ छठ मनाइन्छ । यस अवसरमा यो पर्वको विधि एवं परम्परासँग सम्बन्धित लोकगीत गायन र कथा वाचन गरिन्छ । यो पर्वको अवसरमा ब्रतालु परिवारजनले घरदेखि पूजास्थलसम्म दीपावलीसमेत गर्छन् ।

पर्वकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले छठपर्वले मौलिक संस्कृतिको संरक्षण तथा स‌ंवर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने जनाएकी छन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?