कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१४ वर्षे किशोरले बलात्कार र हत्या स्विकारेका छन्, जसले बालिकाको शव फेला परेको भन्दै अरुलाई खबर गरेका थिए।
सुवास विडारी

मकवानपुर — चार वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । वाग्मती गाउँपालिका–७ लामिटारमा बुधबार साँझ बुबाआमासँगै छिमेकीको पूजामा गएकी बालिकाको बलात्कारपछि ढुंगाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बालिका रुविना पाख्रिनको राति ८ बजेको समयमा हत्या भएको हो । बालिकालाई ती किशोरले बोकेर लगी मनसाही खोलाको बगरमा बलात्कार गरेका थिए । बालिका हराएपछि खोज्ने क्रममा स्थानीयले बगरमा रगताम्य अवस्थामा निर्वस्त्र भेटेका थिए । ‘गाउँमा पूजा भइरहेको थियो, आमाबुबाबाट बालिका हूलमूलमा हराइन्,’ स्थानीय छिरिङ लामाले भने, ‘डेढ घण्टापछि नजिकको खोला किनारमा रगताम्य अवस्थामा भेटिइन् ।’ लामाका अनुसार बालिका हराएपछि ती किशोरले नै शव भेटाएका थिए । ‘जसले बलात्कारपश्चात् हत्या गरे उनैले बालिकाको शव भेटियो भनेर हल्ला गरे,’ लामाले भने ।

किशोर जनता उच्च माविको कक्षा ९ मा अध्ययनरत छन् । स्थानीय शिक्षक विवेक तामाङका अनुसार पछिल्लो समय उनी मदिराका साथै लागूपदार्थ दुर्व्यसनमा फसेका थिए । प्रारम्भिक बयानमा उनले बालिकालाई बलात्कार गरेको स्विकारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । ‘छिमेकमा पूजा भइरहेको अवस्थामा बालिकालाई घर जाऊँ भनेर फकाएर बगरमा लगेका रहेछन् । हामीले पक्राउ गर्दा उनले मादक पदार्थ सेवन गरेका थिए,’ उनले भने ।

बालिकाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । ‘घटनामा संलग्न भएको आशंकामा दुई जनालाई राति नै पक्राउ गरेका थियौं । एक जनाको मात्र संलग्नता देखियो,’ उनले भने, ‘बालिकालाई ढुंगाले समेत हानेको पायौं, घटनास्थलमा भेटिएको ढुंगामा रगत लत्पतिएको छ ।’ बालिकाको शरीरका विभिन्न भागमा ढुंगाले हानेर हत्या गरी करिब ४० फिट टाढा लगेर शव बगरमा लुकाएको पाइएको रानाले बताए ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेटिएका मृतक बालिकाका बुबा शेरबहादुर पाख्रिनले घटनाको निष्पक्ष छानबिनको माग गरे । ‘छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ । मेरो कलिलो छोरीलाई बलात्कारपछि ढुंगाले हानेर मारियो,’ उनले भने ।

‘बलात्कारपछि झुन्ड्याइयो’

कपिलवस्तु– मायादेवी गाउँपालिका–२ मनखोरियाकी १७ वर्षीया युवतीको बलात्कारपछि हत्या गरिएको भन्दै मृतकका परिवारले न्याय दिन माग गरेका छन् । स्थानीय चार व्यक्तिले छोरीको बलात्कार गरेर हत्या गरी रूखमा झुन्ड्याएको मृतकका बुबाले दाबी गरेका हुन् ।

परिवारका अनुसार गत कात्तिक २९ गते राति उक्त घटना भएको र शव बिहान ४ बजे घरनजिकै आँपको रूखमा झुन्डिएको अवस्थामा फेला परेको थियो । ‘राति छोरी घरबाट हराइन्,’ बुबाले भने, ‘बिहान ४ बजे रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा छोरीको शव पाइयो ।’ घटना खुल्ने डरले हत्या गरी पासो लगाएर ‘आत्महत्या’ देखाइएको उनको आरोप छ ।

युवती र स्थानीय एक युवकबीच प्रेम सम्बन्ध रहेको र ४ महिनाअघि दुवैलाई गाउँकै एक जनाको घरमा आफूले फेला पारेको उनले बताए । त्यतिबेला दुवैलाई आइन्दा यसरी भेट गरे राम्रो नहुने भनेर उनले हप्काएका थिए । ती युवकलाई एक–दुई थप्पड हानेको समेत बुबाले बताए । घर पुगेर छोरीलाई पनि उनले एक–दुई थप्पड हानेका थिए । थप्पड हानेकै कुरालाई ईख लिएर छोरीको बलात्कारपछि हत्या गरेको बुबाको भनाइ छ ।

शव झुन्डिएको रूखको हाँगामाथि हात थियो । चप्पल लगाएको र खुट्टामा हिलो लागेको थियो । पासोसमेत पूरा बाँधिएको थिएन । आरोपितका परिवारले युवतीले आत्महत्या गरेको दाबी गरेका छन् । ‘अहिलेसम्म हत्या हो भन्ने खालको प्रमाण छैन,’ प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘सघन अनुसन्धान थालेका छौं ।’ अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने उनले बताए । बुबाले सुरुमा झुन्डिएर छोरीले आत्महत्या गरेको जाहेरी दिएको प्रहरीले जनाएको छ । पछि फेरि उनले बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएका छन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?