१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भुइँमान्छेका समाचार लेख्‍ने सपना अधुरै

काठमाडौँ — ‘मलाई अझै पनि समाजमा दबिएका, अन्यायमा परेका, निमुखा र कसैले नगन्ने मान्छेका समाचार शृंखलाबद्ध रूपमा लेख्न मन छ,’ उनले केही दिनअघि मात्र सहकर्मीलाई सुनाएका थिए । जबकि एक दशक लामो पत्रकारिता यात्रामा उनले यस्तै भुइँमान्छेका कैयन् समाचार लेखिसकेका थिए ।

भुइँमान्छेका समाचार लेख्‍ने सपना अधुरै

महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तबारे होस् या रुकुम पश्चिममा दलित र गैरदलितबीच भएको प्रेम सम्बन्धका कारण मारिएका युवा र तिनको परिवारजनका बारेमा, उनका स्थलगत रिपोर्टिङ सधैँ अन्यायमा पारिएका र आवाज दबाइएकाहरूकै पक्षमा हुने गर्थ्यो । कोरोना संक्रमण बढेपछि उपत्यकामा जारी निषेधाज्ञाका बेला खुलामञ्चमा नि:शुल्क खाना खान आउनेहरूबारे उनले लेखेको समाचारले पनि यही पुष्टि गर्छ । संक्रमणका बेला ‘विपन्नले कसरी बाँच्ने भन्ने ?सवाल उठाएर होस् वा ‘संकटलाई अवसरमा बदल्नेहरू’ का कथा लेखेर होस्, उनी हरदम आफूलाई भुइँमान्छेका संवेदना र समस्याहरूकै निकट राख्थे ।

तिहारको मुखमा उनले सहकर्मीलाई भनेका थिए, ‘अरूका लागि जिन्दगी दिएका दु:खीका कथाव्यथाहरूलाई समेटेर शृंखलाबद्ध रूपमा लेख्ने चाहना छ ।’ यसो भनेको अर्को दिन उनी बिरामी परे । अस्पताल भर्ना भए । छिट्टै निको हुने र फेरि रिपोर्टिङमा जुटिहाल्ने आत्मविश्वास थियो । तर दुर्भाग्य ! कान्तिपुर दैनिकका उपसम्पादक गोकर्ण गौतमको बिहीबार ३१ वर्षको अल्पायुमै निधन भयो ।

गौतमलाई दुई साता अघिदेखि टाउको दुख्ने समस्या देखा परेको थियो । उपचारार्थ सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा रक्तस्राव भई गौतमको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो ।

चिकित्सकहरूसँगको परामर्शपछि उनी अस्पताल भर्ना भएका थिए । बुधबार उनको शल्यक्रिया सुरु भएको थियो । अस्पतालका डा. सुवास फुयालका अनुसार शल्यक्रियाकै क्रममा नसाबाट रक्तस्राव भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ‘कमजोर भइसकेको नसा फुटेर अत्यधिक रक्तस्राव भएपछि शल्यक्रिया सफल हुन सकेन,’ डा. फुयालले परिवारका सदस्यहरूसँग भनेका थिए । बिहीबार बिहान साढे ११ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको परिवारका सदस्यहरूले जानकारी दिए ।

करिब एक दशकदेखि पत्रकारिता गर्दै आएका गौतम पछिल्लो समय कला, साहित्य, समसामयिक विषय र सामाजिक क्षेत्रका विषयवस्तुमा कलम चलाउँथे । उनको अर्को पहिचान तिखो फिल्म समीक्षा लेख्ने रंगपत्रकारका रूपमा थियो । सबै किसिमका दबाब र प्रभावहरूबाट मुक्त रही उनी फिल्महरूका चोटिला समीक्षा लेख्ने गर्थे ।

काभ्रेमा जन्मेका गौतम मकवानपुरस्थित बकैंया गाउँपालिका–४ छतिवनका स्थायी बासिन्दा थिए । पत्रकारितामा स्नातकोत्तर गौतमले मोफसलबाटै पत्रकारिता सुरु गरेका थिए । हेटौंडाबाट पढ्नका लागि काठमाडौं आएपछि उनले केही समय देशान्तर साप्ताहिकमा काम गरे । त्यसपछि कान्तिपुर पब्लिकेसन्समा आबद्ध भएर नेपाल म्यागजिनमा काम गरे । नेपालका तत्कालीन सम्पादक प्रशान्त अर्याल भन्छन्, ‘उनी विषयवस्तुको गहिराइ बुझेर पठनीय रिपोर्टिङ गर्ने क्षमताका पत्रकार थिए ।’ नेपाली फिल्म पत्रकारितामा सधैं सबैको प्रशंसा मात्रै धेरै लेख्ने धारलाई गौतमले राम्रै परिवर्तन गरेको अर्यालको भनाइ छ । ‘फिल्म समीक्षामा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेख्ने स्वतन्त्र लेखनको धारलाई गोकर्णले अघि बढाएका थिए,’ उनी भन्छन्, ‘नेपालको फिल्म पत्रकारितामा अहिले एकोहोरो प्रशंसा मात्रै आउँदैन, जेजस्तो हो, त्यस्तै आउँछ, त्यो धार अघि बढाउने श्रेय गोकर्णलाई जान्छ ।’

नेपाल म्यागजिनकै लागि उनले गरेको अंशु बर्माको पालाको कैलाशकुट भवनबारेको रिपोर्टिङलाई अर्याल अझै सम्झन्छन् । गौतमको निधन नेपाली पत्रकारिताका लागि ठूलो क्षति भएको उनले बताए ।

पछिल्लो समय कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्दै आएका गौतमले सामाजिक र आर्थिक समस्याका कारण आम मानिसले बेहोर्नुपरेका मनोवैज्ञानिक असरहरूतर्फ पनि कलम चलाउन थालेका थिए । कोरोना महामारीलगायतका समस्याले भयावह बन्दै गइरहेका मनोसामाजिक समस्याहरूलाई परास्त गर्न आपसमा सहयोगी भावना विकसित गर्नुपर्नेमा उनको जोड थियो ।

सहकर्मीहरू उनलाई भुइँमान्छेको कथाव्यथा लेखेर कहिल्यै नथाक्ने पत्रकारका रूपमा चिन्छन् । समसामयिक विषयवस्तु तथा सामाजिक विषयहरूलाई अत्यन्तै मिहीन ढंगले केलाउने जाँगर उनमा थियो ।

गौतमको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पत्रकार, रंगकर्मी, आफन्तजनलगायत सयौंको उपस्थिति थियो । उनको परिवारमा श्रीमती, आमा र दाजु छन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?