आठ महिनापछि खुल्यो मायादेवी मन्दिर परिसर

लुम्बिनी — मुलुकको प्रमुख पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर करिब आठ महिनापछि पर्यटकका लागि खुला गरिएको छ । बुधबारबाट मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । खुला गरिएको पहिलो दिन ६ सय जनाभन्दा बढी पर्यटकले मन्दिर परिसर अवलोकन गरेका छन् ।

आठ महिनापछि खुल्यो मायादेवी मन्दिर परिसर

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिइएको हो । डेढ–डेढ मिटरको दूरीमा उभिन लगाई लाइन लगाएर ज्वरो नापेर मास्क लगाई भित्र पठाइएको थियो । मास्क नलगाई आउनेलाई भित्र पस्न दिइएन । पर्यटकले मन्दिर परिसरका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तूप विहार भग्नावशेष र प्राचीन इनार अवलोकन गर्ने गरेका छन् । रुचि हुने र रहर गर्नेहरू ध्यानमा पनि बस्ने गरेका छन् । लुम्बिनी विकास कोषको सचिवालयले बैठक बसेर मन्दिर परिसर खुला गरेको हो । बुद्ध जन्मस्थल रहेको गर्भगृह र मायादेवी मन्दिर भने खुला गरिएको छैन । पर्यटन मन्त्रालयबाट अनुमति प्राप्त हुनासाथ मन्दिर पनि खुला गरिने कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।

बुधबारबाटै केन्द्रीय नहरमा डुंगा पनि सञ्चालन भएको छ । डुंगा सञ्चालन भएसँगै डुंगाचालक अब्दुलमोबिन मुसलमान खुसी थिए । आन्तरिक पर्यटकलाई डुंगा सयर गराउन पाउँदा आनन्द लागेको उनले बताए । केही समययता उनले छिटफुट रूपमा डुंगा चलाउँदै आएका थिए तर बुधबार एक्कासि व्यस्तता बढ्यो । आठ महिनापछि सबैभन्दा धेरै व्यस्त हुँदा उनी दंग परेका हुन् । तिहारपछि बुद्ध जन्मस्थल लुम्बिनीमा बिस्तारै चहलपहल बढ्न थालेको छ । ‘दुई–तीन दिनयतादेखि चहलपहल बढेको छ,’ पर्यटन व्यवसायी विष्णु बस्नेतले भने, ‘मन्दिर परिसरमा प्रवेश खुलेसँगै चहलपहल अझ बढेको हो ।’ कोरोना महामारी र लकडाउनका कारण लामो समय लुम्बिनी सुनसान थियो । तिहारपछि आन्तरिक पर्यटक देखिन थालेसँगै व्यवसायी पनि उत्साहित छन् । यसले पर्यटकीय माहोल देखिन थालेको लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए ।

‘लामो समय घर बसेर दिक्क भएका थियौं,’ पोखराबाट परिवारसहित आएका सुजन गुरुङले भने, ‘यहाँ आएपछि ऊर्जा पाए जस्तो भएको छ ।’ मायादेवी मन्दिर परिसर पुगेर आनन्दित बनेको उनले बताए । आन्तरिक पर्यटकहरू लुम्बिनीमा बसपार्क, ४ र ५ नम्बर गेट हुँदै विहार क्षेत्रभित्र प्रवेश गर्छन् ।

‘तिहारपछि यहाँ आउने पर्यटक बढेका छन्,’ कोषका सूचना अधिकृत राजन बस्नेतले भने, ‘स्वास्थ्य सुरक्षा अपनाएर मन्दिर परिसरमा प्रवेश खुला गरिएको हो ।’ मन्दिर परिसर खोले पनि विहार भने खुलेका छैनन् । अब बिस्तारै यहाँ रहेका विहार, गुम्बा, चैत्य र मन्दिर खोल्नेतिर ध्यान दिनुपर्ने स्थानीय होटल व्यवसायी किरणचन्द्र पौडेलले बताए । ‘हामी पनि स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर सेवा दिन तयार भएर बसेका छौं,’ उनले भने, ‘लामो समयपछि बिस्तारै लुम्बिनीमा चहलपहल बढ्दा निकै आशा पलाएको छ ।’

मन्दिर खोल्नका लागि यहाँ पर्यटन र होटल व्यवसायीले निकै दबाब दिएका थिए । धर्ना पनि गरेका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ । कोरोना भाइरस महामारी बढेयता आर्थिक व्यावसायिक वातावरण प्रभावित रहँदा यहाँका होटल तथा रेन्टुरेन्ट व्यवसायीले ८० करोडभन्दा बढी नोक्सान बेहोरेको बताएका छन् । लुम्बिनी क्षेत्रमा सानाठुला गरेर ८० वटा होटल छन् । होटलमा १ अर्ब ५० करोडभन्दा बढी लगानी छ । लुम्बिनीमा स्वदेशीदेखि विदेशी गरी बर्सेनि १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका पर्यटक यहाँ आएका थिए ।

प्रकाशित : मंसिर ४, २०७७ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?