सांसदले ठेक्का लिएको सडक अलपत्र

घनश्याम खड्का

म्याग्दी — प्रतिनिधिसभाका सांसद नै सञ्चालक रहेको निर्माण कम्पनीले समयमै काम नसक्दा सडक कालोपत्र योजना अलपत्र परेको छ । सांसद जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सन र अच्युत खरेल सञ्चालक रहेको समानान्तर कन्स्ट्रक्सनको ढिलासुस्तीले बेनी–दरवाङ सडक स्तरोन्नतिसहित कालोपत्र हुन नसकेको हो ।

ती कम्पनीले साढे १२ किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का संयुक्त रूपमा पाएका थिए । ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नुपर्ने योजना पूरा नभएपछि ०७७ असोज मसान्तसम्म सक्ने गरी म्याद थपिएको थियो । योजना नियामक पूर्वाधार विकास कार्यालय बेनीका अनुसार हालसम्म योजनाको भौतिक प्रगति ४० प्रतिशत हाराहारी मात्र छ । कम्पनीले कार्यालयबाट ५ करोड ८० लाख पेस्कीबाहेक २२ करोड ३५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

म्याग्दीका पश्चिम मंगला, मालिका र धौलागिरि तथा बागलुङको ताराखोला, बुर्तिवाङ जोड्ने सडकको सुरु खण्ड बेनी–लाम्पाटा १२.५ किमिमा ११ मिटर चौडा बनाई नालीबाहेक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी ०७४ असोज ४ गते सम्झौता भएको थियो । साविक सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको योजना ०७५ पुसमा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको हो । प्रदेश सरकारले चालु आवमा यो सडक कालोपत्र गर्न ४ करोड बजेट विनियोजन गरेको छ ।

‘ठेकेदारलाई काममा फर्काउन चारवटा पत्र लेख्यौं । टेलिफोनमा थुप्रै आग्रह गर्‍यौं तर बेवास्ता गर्दै आएका छन् । पत्रको रेस्पोन्स नै गरेको छैन,’ जिल्ला प्रशासन कार्यालयमा हालै सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा पूर्वाधार विकास कार्यालय प्रमुख नवराज पौडेलले भने, ‘ठेकेदार परिचालन नहुँदा हामीमाथि पनि प्रश्न उठेको छ । अब धरौटी जफत गरी कालोसूचीमा राखेर ठेक्का तोड्नुपर्ने अवस्था आएको छ ।’

पर्याप्त बजेट विनियोजन नभएकाले समयमै काम गर्न नसकेको निर्माण कम्पनीले बताउँदै आएको छ । ‘दुई वर्ष संघ र प्रदेश सरकारको खिचातानीले बजेटै परेन,’ समानान्तरका सञ्चालक खरेलले भने, ‘दुई वर्षअघि गरेको कामको तीन करोड भुक्तानी दुई वर्षपछि पायौं । कसरी काम समयमा हुन्छ ?’ तर कार्यस्थलमा एक जना मजदुर परिचालन नभएकाले ठेकेदार कम्पनीले बहानाबाजी गरेको सरोकारवालाले बताएका छन् । सडक चाक्लो पार्ने र ड्रेन बनाउनेसमेतका कामै भएको छैन । ठेकेदारले सडक चौडा पार्न भित्तामा लगाएको ग्याभिन जाली झिकेर फालेको तर नयाँ संरक्षणका काम नगर्दा गत बर्खामा भित्ता पुरै बगेर सडक तहसनहस भएको छ ।

जिल्ला प्रशासनका अनुसार बेनी–दरवाङको दोस्रो खण्ड, मंगला गापाको बाबियाचौर–अर्मन–किम्चौर हुँदै बागलुङ ताराखोला जोड्ने सडक, गलेश्वर–भगवती–बेग सडक र पोखरे–चित्रे सडकको कालोपत्रलगायत कार्य अधुरा नै छन् ।

प्रकाशित : मंसिर ४, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

एजेन्सी

काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै बिक्री हुने अनुमान गरिएको छ । 

प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार पहिलो दिनको बिक्रीमा अग्रिम अर्डर, इ–बुक र अडियो बुकको संख्यासमेत जोडिएको छ । पहिलो दिनको बिक्रीले आफूहरुले निकै उत्साहित भएको पेन्गुइन ऱ्यान्डम हाउसको सहप्रकाशन समूह क्राउनका डेभिड ड्रेकले बताए । ओबामाको पुस्तक नोभेम्बर १७ मा सार्वजनिक भएको हो ।

यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति बिक्री भएको थियो । सन् २०१८ मा प्रकाशित उक्त पुस्तक अहिलेसम्म विश्वभर गरेर एक करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

पूर्वराष्ट्रपति बिल क्लिन्टनको संस्मरण ‘माई लाइफ’ पहिलो दिनमा उत्तर अमेरिकामा मात्रै करिब ४ लाख प्रति बिक्री भएको थियो भने जर्ज डब्लू बुसको ‘डिसिजन प्वाइन्ट्स’ झन्डै २ लाख २० हजार प्रति बिक्री भएको थियो । अहिलेसम्म क्लिन्टनको उक्त पुस्तक ३५ लाख र बुसको संस्मरण करिब ४० लाख बिक्री भएको छ ।

सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी बिक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो । सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी बिक्री भएको थियो ।

ओबामाको पुस्तक प्रकाशन नहुँदै चर्चामा आएको थियो । बाराक ओबामा र मिसेल ओबामाको पुस्तक प्रकाशनका लागि क्राउन पब्लिकेसनले करिब ६ करोड डलर तिरेको बताइएको छ ।

ओबामाको नयाँ पुस्तकमा सन् २०१० मा आफ्नो भारत भ्रमणका बारेमा पनि चर्चा गरेका छन् । साथै उनले आफ्नो भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस नेतृ सोनिया गान्धी र कांग्रेस नेता राहुल गान्धीसँगको भेटका बारेमा पनि चर्चा गरेका छन् । राहुल गान्धीमाथि गरेको टिप्पणीले भारतीय सञ्चारमाध्यममा निकै बहस पनि भएको थियो । ओबामाले राहुललाई ‘अपरिपक्व’ व्यक्तिको रुपमा टिप्पणी गरेको बताइएको छ ।

त्यस्तै पुस्तकमा ओबामाले आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि पनि चर्चा गरेको बताइएको छ ।

ओबामाले यसअघि नै लेखेका पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’ र ‘द अडासिटी अफ् होप’ लाखौं प्रति बिक्री भइसकेका छन् ।

प्रकाशित : मंसिर ४, २०७७ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×