दाहालले प्रधानमन्त्रीलाई लगाएका आरोपको हिसाबकिताब संसद् र सडकबाट मागिनेछ : सांसद थापा

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् । 

दाहालले प्रधानमन्त्रीलाई लगाएका आरोपको हिसाबकिताब संसद् र सडकबाट मागिनेछ : सांसद थापा

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप उल्लेख गर्दै सांसद थापाले नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाब मागिने बताएका हुन् ।

'यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रूपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्ने छैन,' सामाजिक सञ्जालमा उक्त विषयबारे सांसद थापाले लेखेका छन्, 'नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुवैबाट मागिने छ ।'

अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई लगाएका आरोप नेकपाका आन्तरिक विषय नभएको थापाको भनाइ छ । 'अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो । आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर 'फकाइदिए वा मिलाइदिए' पनि अब हाम्रो एक-एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला,' उनले भनेका छन् ।

पार्टीभित्र विवाद चुलिएको बेला अध्यक्ष दाहालले सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा प्रधानमन्त्री ओली असफल भएको र त्यस्ता कार्यमा संलग्नलाई संरक्षण गरेको आरोप लगाएका थिए ।

दाहालले एकल रूपमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए । जसमा सरकारबारे लेखिएको थियो, 'नेकपाको संसदीय दलले चुनेर प्रधानमन्त्री बन्नु भएको खड्गप्रसाद ओलीले स्वच्छ सरकार र सुशासनको कार्यदिशा विपरीत सरकार चलाउनु भयो, त्यस्तै ‘भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य राख्नुपर्ने करको दर-रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो, कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद मात्र सिर्जना गर्नु भएन कानुन सम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्कृय तुल्याउनु भयो ।'

दाहालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई लगाएका आरोप थापाले आफ्ना धारणामा उल्लेख गरेका छन् । 'राष्ट्रियतासँग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिनु भयो र विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीति संग मेल नखाने व्यवहार देखाउँदै अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पुर्‍याउनु भयो,' दाहालको आरोप थियो, 'द्वन्दकालीन मुद्दाहरूलाई राजनीति उद्देश्यका निम्ति उपयोग गर्नुभयो । समग्रमा सरकार सञ्चालनको दुई वर्षको अवधि हेर्दा प्रधानमन्त्री ओली सम्पूर्ण रूपमा असफल हुनु भयो ।'

अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालनबारे लगाएका यी आरोप पार्टीभित्रका विषयमात्रै नभएको सांसद थापाको धारणा छ । उनले यी विषयलाई प्रमुख प्रतिपक्षीले संसद र सडकको विषय बनाउने बताएका छन् ।

प्रकाशित : मंसिर ३, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?