मन्त्रिपरिषद् बैठक २ बजेलाई सारियो, सचिवालय बैठक १ बजे बालुवाटारमै

काठमाडौँ — बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए । सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक बस्दा बाहिर गलत सन्देश जाने आफूनिकट नेताहरुको सुझावपछि प्रधानमन्त्री ओलीले बैठक सारेको बताइएको छ ।
यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् ।
हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।
— NKShresthaPrakash (@nksthaprakash) November 18, 2020
सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।
कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए। अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अध्यक्ष दाहालकहाँ पुगेका थिए ।
दाहालले प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान राखेपछि पौडेल फर्किएका थिए । त्यसपछि साँझ बालुवाटारमा ओलीले आफू निकट नेताहरुसँग सघन संवाद पनि गरेका थिए ।
प्रकाशित : मंसिर ३, २०७७ १०:३१