१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तिहारको टीका नपुछिँदै भारततर्फ

भारतमा होटल, उद्योगलगायत खुल्न थालेपछि सञ्चालक र एजेन्टले नेपाली कामदार बोलाउन थालेका छन्, कामदार लिन कतिपय भारतीय सीमासम्मै आइपुगेका छन् ।
भवानी भट्ट

कञ्‍चनपुर — निधारमा टीका, काँधमा झोला । भाइटीकाको दिन लगाएको टीका पनि पुछिएको थिएन । मंगलबार बिहानको १० बज्नै लाग्दा सीमानाका गड्डाचौकी पुगेका कञ्चनपुरको वेदकोट नगरपालिका–१० का रामचरण राना हतारमा देखिन्थे । १० बजेपछि भारत प्रवेश गर्न नपाइने भएका कारण उनी परिवारसहित दौडधुप गर्दै नाकामा पुगेका हुन् । 

तिहारको टीका नपुछिँदै भारततर्फ

‘हिजो तिहार मनायौं, आज काममा जानुपर्‍यो,’ रामचरणले भने, ‘एक/दुई दिनपछि जाने सोचमा थिएँ, मालिकले छिटो बोलाएकाले तिहारलगत्तै जान लागेको हुँ ।’ उनी नयाँदिल्लीस्थित होटलमा काम गर्थे । कोरोना संक्रमणका कारण होटल बन्द भएपछि उनी जेठमा घर फर्किएका हुन् । ६ महिनादेखि घरमै बेरोजगार बस्दा दैनिक खर्च चलाउन पनि समस्या हुन थालेको थियो ।

‘पहिले त दसैंतिहारमा मात्रै आउँथ्यौं, केही दिन बस्न पनि पाइन्थ्यो,’ उनले भने, ‘यसपालि त कोरोनाले जेठमै घर आयौं । मालिकले तिहारअघि नै बोलाएका थिए तर चाड मनाएर जाने भन्दै गएनौं ।’ उनको घरमा खेतीपातीको काम पनि चलिरहेको छ । गहुँ छर्ने चटारोका बीच उनी भने रोजगारीका लागि भारत पसेका हुन् ।

कैलाली लम्कीका नन्दनसिंह घर्तीमगर पनि मंगलबार बिहान परिवारसहित भारततिर लागे । नैनीतालमा ज्याला–मजदुरी र खेतीपातीको काम गर्ने उनी तिहारअघि घर आएका थिए । सोमबार भाइटीका लगाएर उनी दोस्रो दिन नै काममा फर्किन लागेका हुन् । ‘परिवारसँगै बसेर चाड मनायौं, अनि काममा फर्किन थाल्यौं,’ उनले भने । उनी सानैदेखि नैनीतालमा भारियाको काम गर्थे । पछि त्यतै जग्गा भाडामा लिएर तरकारी उत्पादनतिर लागे । घरबाट जहान, परिवार पनि लगे । परिवारले तरकारी उत्पादन गर्ने र आफूले मजदुरी गर्दै पेट पाल्दै आएको उनले बताए ।

‘लकडाउनले ज्याला–मजदुरी केही छैन, अहिले त त्यत्तिकै बसेको छु,’ उनले भने, ‘अलिअलि साग, तरकारी लगाएकाले त्यसकै रेखदेखका लागि जान लाग्यौं ।’ उनको पनि निधारमा तिहारको टीका पुछिएको थिएन । उनको साथमा श्रीमती, दुई छोरी र एक छोरा पनि छन् । लामो समयदेखि विद्यालयहरू नखुलेपछि छोराछोरीलाई पनि सँगै लैजान लागेको उनले बताए । ‘यता स्कुल खुल्दैन, उतै हामीलाई सहयोग गर्लान्,’ नन्दनकी श्रीमती पार्वतीले भनिन्, ‘स्कुल खुले घर पठाइदिन्छौं ।’ उनको परिवारले तरकारी बिक्रीबाट महिनामा १०/१२ हजारसम्म कमाउँदै आएको छ । ज्याला–मजदुरीबाट पनि त्यतिकै कमाइ हुने नन्दनले बताए ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूका अनुसार मंगलबार गड्डाचौकी नाकाबाट १ सय ३९ जना नेपाली भारत पसेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि घरमै बेरोजगार भएर बसेकाहरू तिहारको टीकासमेत नपुछिँदै धमाधम भारत छिर्न सीमानाकामा पुग्न थालेका हुन् ।

भारतमा पनि लकडाउनका कारण बन्द होटल, उद्योगलगायत खुल्न थालेपछि सञ्चालक र एजेन्टले नेपाली कामदार बोलाउन थालेका छन् । कतिपय भारतीयहरू कामदारलाई लैजान भन्दै सीमासम्मै आइपुगेका छन् ।

प्रकाशित : मंसिर ३, २०७७ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?