१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

महानगरले ठाउँ नताेकेपछि खुल्लामञ्चमै खाना बाँडियाे

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउन बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना बाँडेको छ ।

महानगरले ठाउँ नताेकेपछि खुल्लामञ्चमै खाना बाँडियाे

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन स्वयंसेवीहरूलाई आग्रह गरेको थियो । सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनको लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरि पनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको पनि उनले बताए ।

खाना खान आउने मानिसहरु भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कि काम देऊ होइन भने खान देऊ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन् । कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आएर नि:शुल्क वितरण गरिएको खाना खान बाध्य भएको बताएका छन् । सडकमा बसेर खाना खान आफूहरुको रहर नभइ बाध्यता भएको पनि उनीहरुले बताए ।

हाम्रो टीम नेपालले गत चैत ११ गते देखि लकडाउन भएपछि खान खान नपाएर समस्यामा परेका व्यक्तिहरुलाई चैत १४ गते देखि खाना खुवाउँदै आएको छ । सुरुमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा नि:शुल्क खाना खुवाउने काम गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाले अव्यवस्थित रुपमा खाना खुवाउादा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ । व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ ।

प्रकाशित : मंसिर २, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?