चैनपुरमा चन्द समूह र प्रहरीबीच गोली हानाहान- समाचार - कान्तिपुर समाचार

चैनपुरमा चन्द समूह र प्रहरीबीच गोली हानाहान

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका कार्यकर्ताबीच सोमबार गोली हानाहान भएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीलाई चन्द समूहका कार्यकर्ताले धराप थापेर फायरिङ गरेपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । धराप बिस्फोट भएपनि प्रहरीलाई भने केही भएको छैन ।

जवाफमा प्रहरीले ८ राउन्ड फायर खोलेको डीएसपी नवराज मल्लले बताए । केहीबेर दोहोरो फायरिङ भएको पनि उनले बताए । मानवीय क्षति भने नभएको उनले बताए ।

सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि चन्द कार्यकर्ताले चैनपुरको मैदाने भन्ने स्थानमा धराप बिस्फोट गरेपछि गोली प्रहार गरेका थिए ।

प्रहरीको नियमित गस्तीमाथि चन्द कार्यकर्ताले नियोजित ढंगले गोली प्रहार गरेको डीएसपी मल्लले बताए । चन्द कार्यकर्ताले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको उनको भनाइ छ । प्रहरीले जवाफी फायरिङ खोलेपछि चन्द समूहका कार्यकर्ता भागेका थिए ।

हाल त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाकर्मी खटाइएको हो ।

सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । सुरक्षाकर्मी परिचालन गरेर चन्द कार्यकर्ताको खोजी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रकाशित : मंसिर १, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट दुई चिकित्सकको निधन

इकान्तिपुर डेस्क

काठमाडौँ — कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।

डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुन् । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुन् ।

डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको जनाउँदै समवेदना प्रकट गरेको छ ।

प्रकाशित : मंसिर १, २०७७ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×