कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले समृद्धिको अभियानमा अवरोध पुर्‍यायो : प्रधानमन्त्री ओली 

विशेष सावधानी अपनाएर पर्व मनाउन आह्वान

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सरकारले कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्दाचाल्दै पनि त्यसले मुलुकको सामाजिक, आर्थिक र समृद्धिको अभियानमा अवरोध पुर्‍याएको लेखेका छन् । 

कोरोनाले समृद्धिको अभियानमा अवरोध पुर्‍यायो : प्रधानमन्त्री ओली 

'विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु । यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको छ,' प्रधानमन्त्रीले अगाडि उल्लेख गरेका छन्, 'यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका बाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।'

प्रधानमन्त्री ओलीले सरकार संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको दिशामा अग्रसर भएको बताएका छन् । 'सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु । यसै एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।'

प्रकाशित : मंसिर १, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?