नेपाल संवत्‌ले आपसी सद्‍भाव र  राष्ट्रिय एकता सुदृढ : राष्ट्रपति भण्डारी

इकान्तिपुर डेस्क

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार तथा नेपाल संवत् ११४१ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् ।

नेपाल संवत्‌ले आपसी सद्‍भाव र  राष्ट्रिय एकता सुदृढ : राष्ट्रपति भण्डारी

आजको दिनले राष्ट्रिय विभूति साख्वाको परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, 'नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । नेपाल संवत्‌ले संपूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुन: नेपाल संवत् ११४१ हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको अधिकतम पालना गर्दै नेपाल संवत्‌को नयाँ वर्ष मनाउन पनि राष्ट्रपतिले आग्रह गरेकी छिन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ ।

लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौं उपत्यकामा रहेका गरिब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ ।

त्यस्तै तिहारका अवसरमा पनि शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वास व्यक्त गरेकी छिन् ।

प्रकाशित : मंसिर १, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?