३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँच नेतालाई ओलीको जवाफ : ‘समस्याको जड शीर्ष नेताहरुको प्रधानमन्त्री बन्ने आकांक्षा’

दाहाललाई प्रश्न–केही दिनको कचपच, एकखाले सहमति, त्यसको २/४ दिन पछि फेरि उही कचपच...को शृंखलामा हामी कहिलेदेखि छौं र कहिलेसम्म रहने ? 
बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुमा प्रधानमन्त्री बन्ने चाहना पलाउँदा पार्टीभित्र अहिलेको अवस्था आएको दाबी गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले बैठक बोलाउन माग गर्दै लेखेको पत्रमा ओलीले नेताहरुमा प्रधानमन्त्री बन्ने चाहना हुँदा समस्या आएको प्रस्टै संकेत गरेका छन् ।

पाँच नेतालाई ओलीको जवाफ : ‘समस्याको जड शीर्ष नेताहरुको प्रधानमन्त्री बन्ने आकांक्षा’

‘अहिलेको सम्पूर्ण समस्याको जड निश्चित शीर्ष नेताहरुको अगस्त्य आकांक्षाको प्रतिफलबाहेक केही होइन । शीर्ष स्थानमा रहेर दशकौं पार्टी चलाइसकेका प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका व्यक्तिहरुले पुनः त्यतै फर्किने व्यग्र आकांक्षाले यथार्थमा यी सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएका हुन्,’ ओलीले दाहाललाई सम्बोधन र अन्य नेतालाई बोधार्थ दिई लेखेको पत्रमा छ ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध मोर्चाबन्दी भएको भन्दै असन्तुष्टि पोखेका छन् । ‘पटक पटक मन्त्री र प्रधानमन्त्री भइसक्नु भएका तपाईं सचिवालयका कमरेडहरुलाई म प्रश्न गर्न चाहन्छु, के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा यसैगरी बाँध्ने र घेराबन्दी गरिएको थियो र ? थोरै नै होला सरकारले गरेका सकारात्मक काम सरकारमा रहनेले मात्रै प्रचार गर्ने, पार्टीपंत्तीलाई मौन राखिने गरिएको थियो र ?’ ओलीको पत्रमा छ ।

यसबाहेक उनले सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकार जस्तो किन छ भन्ने प्रश्न पनि उठाएका छन् । ‘सौचौं, पार्टी एकीकरणको यति लामो अवधिसम्म पनि हाम्रो पार्टी, एउटै पार्टीभन्दा संयुक्त मोर्चा जस्तो किन छ र, एकतापछि हाम्रो सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकार जस्तो किन छ ? यस्तो संक्रमण अन्त्य गर्न ढिला भएन ? यसका लागि नेतृत्व तहका कमरेडहरुको सामूहिक प्रयास आवश्यक पर्दैन र ?’ ओलीको पत्रमा प्रश्न उठाइएको छ ।

ओलीले पार्टीमा बहुमत अल्पमतको खेल घामछायाँजस्तो हुने बताएका छन् । ‘गुटबन्दी र आग्रहको बाटोमा नहिँड्ने हो भने पार्टी भित्रको पक्षधरता आमरुपमा विषय आधारित हुन्छ, हुनु पनि पर्छ । बहुमत, अल्पमतको अंकगणित त त्यसै पनि कहिले घाम, कहिले छायाँ जस्तो हुन जान्छ । छेउछाउमा बसेका साथीहरुले सिठ्ठी बजाउँदा हौसिँदै जाने हो भने नीति र विधिबाट निर्णय गर्ने होइन, कृत्रिम रुपमा सिर्जित पर्सेप्सनको आधारमा बहकिने खतरा पैदा हुन्छ’ प्रधानमन्त्री ओलीको पत्रमा छ ।

साथै उनले पत्रमा लेखेका छन् ‘विधि, पद्धति भनेको जता दुलो, उतै दैलो भनेजस्तो होइन । पार्टीको गोपनियता अपारदर्शीता होइन । अन्तरपार्टी जनवाद स्वच्छन्दता होइन । कपट र जालझेलपूर्ण व्यवहार अन्तर पार्टी बहस वा अन्तरपार्टी संघर्ष होइन । आफू समानका कमरेडहरुसँग गरिने तहगत योजना वा पार्टी नेता, कार्यकर्ताको समीक्षाको विषय सडकको चर्चाका विषय हुन सक्दैन । हरेक चोटी गरिएका ‘कन्फिडेन्सियल’ छलफल अखबारको समाचार हुन सक्दैन ।’

यसबाहेक ओलीले पत्रमा दाहालमाथि प्रश्न गरेका छन्, कमरेड प्रचण्डले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्छ–'मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि ? ’ कसरी र के भन्दा कमरेड फकिनु हुन्छ र भन्नुस् न त ! मुलुकको समृद्धिका लागि, जनताको खुशीयालीका लागि, नेपाली कम्युनिष्ट आन्दोलनको अग्रगतिका लागि, पार्टीलाई थप सुदृढ गर्नका लागि ! हुन्छ, म तपाईंलाई फकाउन तयार छु । ल मैले फेरि फकाएँ ! आउनुस् गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔं !’

ओलीले नियमित प्रक्रियाबाट हुने नेतृत्व हस्तान्तरण छाडेर किन अर्कोबाट समातिएको भन्दै प्रश्न उठाएका छन् । ओलीले लेखेका छन्, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु । तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ–'चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन ? त्यसरी नै, दुई वर्षपछि आमनिर्वाचन हुन्छ । मेरो विश्वास छ–नेकपाको विजय यात्रा जारी नै रहनेछ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो र, होइन भने, फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?’

यसबाहेक ओलीले आफ्नो पत्रमा आफूमाथि लगाइएको आरोपको जवाफ दिएका छन्, ‘अध्यक्ष प्रचण्डसहित कमरेडहरुले सचिवालय, स्थायी र केन्द्रीय कमिटीलाई क्रमशः ‘गुट, हुल्लडबाज, सडकछाप’ कमिटी भनिस् भन्ने अनर्गल आरोप लगाउनु भएको छ । मैले त कमरेडहरु यतिसम्म झुठा कुरा घोलेर कथा बुन्न सक्नुहुन्छ भन्ने सोच्न पनि सक्दिनँ । साँढे तीन बीस उमेर कटाइसकेका सहपाठीबाट यस्तो अपत्तिजनक आरोप किन र केका लागि ?’

यसबाहेक दाहाललाई ओलीको प्रश्न छ, ‘खास गरेर प्रचण्ड कमरेडलाई म प्रश्न गर्छु–केही दिनको कचपच, एकखाले सहमति, त्यसको २/४ दिन पछि फेरि उही कचपच...को शृंखलामा हामी कहिलेदेखि छौं र कहिलेसम्म रहने ? कमरेडहरुको यो ‘तमासा’बाट आजित हुनुभएको छैन ? देश, जनता र समग्र पार्टीपंक्तिले हामीबाट गरेको अपेक्षा यही हो त ?’

ओलीले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाएका दाहाललाई प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो ? भन्ने प्रश्न गरेका छन् । उनको पत्रमा छ, ‘पछिल्लो चोटी १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो ? त्यसको रोडम्याप के कस्तो बन्यो ? मेरा कारणले हुन नसकेको भए, यहाँले गर्नुभएको गृहकार्यमा के के मा र कहाँ मेरो अवरोध रह्यो ? महाधिवेशनको तयारीको लागि बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्न के के गृहकार्य गर्नुभयो ? र, त्यसमा मसँग यहाँले के सहयोग माग्नु भयो ? या मैले कहीँ बाधा अवरोध पो पुर्‍याएँ कि ?’

कात्तिक २२ मा दाहालसहित सचिवालयका पाँच नेताले ओलीलाई पत्र बुझाएका थिए । त्यसको जवाफमा ओलीले कात्तिक २५ मा दाहाललाई सम्बोधन गर्दै अन्य चार नेतालाई बोधार्थ दिएर जवाफी पत्र लेखेका थिए ।

प्रकाशित : कार्तिक २८, २०७७ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?