२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका परिवर्तन 

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने प्रस्ताव अनुमोदन
कुलचन्द्र न्यौपाने

काठमाडौँ — महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरुबीच सहमति नबनेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार स्थानीय तहले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य मंसिर मसान्तभित्रमा टुंग्याएर केन्द्रमा पठाइसक्नु पर्ने छ । यसअघि भदौ मसान्तसम्ममा केन्द्रमा पठाउने तालिका थियो ।

कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिका परिवर्तन 

तालिकाका विषयमा नेताहरुबाट फरक फरक प्रस्ताव आएका थिए । सभापति शेरबहादुर देउवा पटक—पटक सार्नुभन्दा भदौमै महाधिवेशन गराउने पक्षमा उभिएका थिए । पूर्वमहामन्त्री कुष्णप्रसाद सिटौलाले महाधिवेशनको पूर्ण तालिका नै संशोधन गरेर ल्याउनु पर्ने अडान राखेका थिए । उनले केन्द्रको महाधिवेशन जेठमा गर्ने गरी कार्यतालिका संशोधनको प्रस्ताव राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने प्रभावित भइसकेको क्रियाशील सदस्यताको कार्यतालिकालाई मात्रै संशोधन गर्ने अडान राखेको थियो । मंसिरमा क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न भएमा फागुनभित्रै महाधिवेशन गराउन सकिने तर्क पौडेलको थियो । फागुनमा महाधिवेशन गर्न नसकिने अवस्था बनेपछि नै संशोधन गर्न उसले सुझाएको थियो ।

पौडेल पक्षको अडानका कारण महाधिवेशनको पूर्ण कार्यतालिका संशोधन नभएको हो । संस्थापनपक्षीय नेता कार्कीले भने पटक—पटक महाधिवेशनको अन्योलता बढाउनुभन्दा भदौमा महाधिवेशन गर्ने गरी तालिका संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले महाधिवेशनको तयारीसँगै सरकारको अकर्मण्यताविरुद्धका आन्दोलनका कार्यक्रम समेत ल्याउन जोड दिएका थिए । थापा र गुरुङले समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउन समेत नेतृत्वलाई दबाब दिएका थिए ।

बैठकले राप्रपाका तत्कालीन नेता सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । साथै उनीसँगै कांग्रेस प्रवेश गरेकाहरुमध्ये ६ जनालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ ।

सरकारविरुद्धका आन्दोलनका कार्यक्रम तिहारलगत्तै बस्ने पदाधिकारी बैठकबाट तह हुने जानकारी सभापति देउवाले गराएका थिए । वरिष्ठ नेता पौडेलले आफूहरुले विधान र प्रक्रियाअनुसार अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै आएको बताउँदै आफूहरुले उठाएको मागमा आंशिक सहमति बनेको बताए ।

प्रकाशित : कार्तिक २८, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?