बैतडी बस दुर्घटना [अपडेट] : मृतक ९ जनाकै सनाखत

तृप्ति शाही

बैतडी — बिहीबार राति बैतडीको पाटन नगरपालिका वडा नम्बर–८ खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । मृतकका आफन्तहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीले उनीहरुको सनाखत गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

बैतडी बस दुर्घटना [अपडेट] : मृतक ९ जनाकै सनाखत

डीएसपी अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडका कविन्द्रप्रसाद जोशी, सोही ठाउँका करनसिंह ऐडी र रण बहादुर चन्द, दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाँडागाउँका जगन्नाथ ओझा, दार्चुला खरकडाका तर्कराज गिरी, कञ्चनपुरको भीमदत्त नगरपालिका १० की बिज्नादेवी धामी, भीमदत्त नगरपालिका ८ तिलाचौरकी कृतिका कार्की रहेका छिन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीका नरेन्द्र चौधरी र धनगढीकै आर्दश टोल बस्ने ऋषिराम चौधरीको पनि दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला छन् । उपचारको क्रममा डडेल्धुराको अस्पतालमा मृत्यु भएकी किर्तिका कार्की बाहेक अन्य सबै मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरुमध्ये सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ को गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा बिहीबार राति दुर्घटनामा परेको हो ।

बसमा ४३ जना यात्रु सवार रहेका डीएसपी अधिकारीले बताए । दुर्घटनाको कारण अहिलेसम्म खुल्न नसकेको उनले बताए । चालकलाई पनि उपचारका लागि धनगढी पठाइएकाले सोधपुछ गर्न बाँकी रहेको उनले बताए ।

प्रकाशित : कार्तिक २८, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?