शंकास्पदले परीक्षण गर्न पाएनन्

पीसीआर मेसिन र प्रयोगशाला नहुँदा पूर्वका पहाडी जिल्लाहरुमा पैसा तिरेर पनि समयमै परीक्षण गराउन पाउने अवस्था छैन
कान्तिपुर संवाददाता

ताप्लेजुङ — हनहनी ज्वरो आएपछि अघिल्लो शनिबार र आइतबार घरमै आराम गरेका नरेन्द्र कटवाल सोमबार बाहिर निस्किए । पौडेल कफी हाउसमा पुग्दा सिरिजंघा गाउँपालिका अध्यक्ष टीका गुरुङलगायत चिया पिउँदै गरेको अवस्थामा भेटिए । त्यहाँ आफूलाई कोरोनाको जस्तै लक्षण देखिएको उनले सुनाए । उद्योग वाणिज्य संघको कार्यालयमा स्वाब संकलन भइरहेकाले परीक्षणका लागि सुझाव पाए ।

शंकास्पदले परीक्षण गर्न पाएनन्

उनी मात्रै जाँदा स्वाब लिन नमान्ने आशंका सुनाएपछि गाउँपालिका अध्यक्ष गुरुङले प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंलाई सिफारिस गरे । कटवालको मंगलबार स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आयो । ह्युमन प्राक्टिस फाउन्डेसनमा कार्यरत कटवाल बिरामी परेपछि अरू कर्मचारीमा पनि उनलाई जस्तै लक्षण देखियो । संस्थाका लेखापाल दिवस भण्डारी पनि ज्वरो आएपछि आइसोलेसनमा बसेका छन् । ‘मलाई पनि ज्वरो आएको छ, खानामा रुचि हुँदैन, स्वाद पनि कमै थाहा पाउँछु,’ उनको प्रश्न छ, ‘म संक्रमित हो कि होइन, कसरी थाहा पाउने ?’

ताप्लेजुङमा पैसा तिरेर पनि आफ्नो परीक्षण गराउन पाउने अवस्था छैन । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको सिफारिसमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि झापा, विराटनगर वा धरान पठाउनुपर्छ । नतिजाका लागि पनि ५/७ दिनसम्म पर्खनुपरेको समितिका सचिवसमेत रहेका प्रजिअ चापागाईं बताउँछन् । ‘मान्छेको बुझाइ दुई हजार रुपैयाँमा परीक्षण हुन्छ भन्ने छ,’ उनले भने, ‘हाम्रो बाध्यता यहाँ संकलन गरेर गाडी रिजर्भ गरेर तराई पठाउनुपर्छ, समय पनि लाग्छ र खर्च पनि हुन्छ ।’

पीसीआर परीक्षण गर्ने मेसिन र प्रयोगशाला नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभाजस्ता पहाडी जिल्लाको स्वाब तराईका जिल्लामा पठाउनुपर्ने बाध्यता छ । ‘स्वाब संकलन गरेर पठाउँदा त्यसको नतिजा आइसक्दा कतिपय संक्रमित निको भइसकेका हुन्छन्,’ जिल्ला अस्पतालका डा. सोनिम लामाले भने, ‘त्यही भएर मास्क लगाऔं, दूरी कायम गरौं, अनावश्यक हिँडडुल नगरौं भनेर हामीले अनुरोध गरेका हौं ।’

सदरमुकाम तथा अन्य बजार क्षेत्रमा समेत परीक्षणको सहज पहुँच छैन । यस्तोमा दुर्गम र ग्रामीण क्षेत्रका बासिन्दालाई आफू संक्रमित भए–नभएको बारे थाहा पाउन कठिन हुनु स्वाभाविक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । संक्रमितहरू भने समयमै संक्रमणबारे जानकारी पाउन अत्यावश्यक रहेको अनुभव सुनाउँछन् । ‘एक त परीक्षण गराउनै पहुँच चाहिन्छ, अर्कोतर्फ धेरै दिनसम्म रिपोर्ट आउँदैन,’ आइसोलेसनमा रहेका भण्डारीले भने, ‘समयमै संक्रमणबारे थाहा नहुँदा परिवार र समाजका अरूमा पनि सर्ने जोखिम हुन्छ ।’ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेशकुमार भट्टराई केही महिनाअघि नै आफूले पीसीआर मेसिनको कुरा गर्दा चिकित्सकले सञ्चालनलाई निरन्तरता दिन कठिन हुने बताएको दाबी गर्छन् । ‘डाक्टरहरूले निरन्तर सञ्चालनमा गाह्रो हुन्छ भन्नुभयो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘यो विषयमा मेरो ध्यानाकर्षण भएको छ, के गर्न सकिन्छ, सल्लाह गर्छु ।’

तराईका झापा, मोरङ र सुनसरी जिल्लामा मेसिन भएकाले पहाडका सबै जिल्लाले आलोपालो गरेर स्वाब पठाउने गरेका छन् । ताप्लेजुङलाई भने स्वाब पुर्‍याउनकै लागि १२ घण्टासम्म लाग्ने गरेको छ । हरेक पटकजसो मान्छे भेला गराएर बिहान परीक्षण गर्ने र राति पुग्ने गरी एम्बुलेन्समा पठाउने गरिएको छ ।

कर्णालीमा स्वाब परीक्षण न्यून

वीरेन्द्रनगर– पछिल्लो समय कर्णालीमा कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पीसीआर परीक्षण कार्य रोकिएको छ । चिकित्सकको सिफारिसमा स्वाब परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्यामा पनि कमी देखिन थालेको छ । दसैंपछि हालसम्म कर्णालीका विभिन्न प्रयोगशालाबाट करिब ३ हजार जनाको मात्र स्वाब परीक्षण भएको छ । कात्तिक ११ गते कर्णालीका चारवटै प्रयोगशालामा एक जनाको पनि स्वाब परीक्षण भएन । कात्तिक ९ र १२ गते पनि दैलेखस्थित प्रयोगशालाबाहेक अन्यमा परीक्षण शून्य रह्यो । कात्तिक १६ गते पनि दैलेख र रुकुमबाहेक अन्य प्रयोगशालामा परीक्षण नभएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत आइतबार पनि कर्णालीका ३ वटा प्रयोगशालामा परीक्षण भएन ।

कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा स्वाब परीक्षण हुने गरेको छ । सरकारले शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । उनका अनुसार स्वाब परीक्षणका लागि व्यक्तिहरू पनि कम आउने गरेका छन् । ‘पहिला समुदायमै गएर स्वाब संकलन गर्थ्यौं,’ उनले भने, ‘सरकारले अहिले डाक्टरको सिफारिसपछि मात्रै स्वाब परीक्षण गर्ने भनेकाले यो काम पनि प्रभावित भयो ।’ उनले पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङ पनि नभएको बताए ।

प्रकाशित : कार्तिक २८, २०७७ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?