‘मास्टरसेफ युके’मा नेपाली खाना चिनाउँदै सिरहाका सन्तोष

बुनु थारु

काठमाडौँ — कर्जन्हा, सिरहाका ३५ वर्षीय सन्तोष साह घरखर्च चलाउन साइकलमा झोला र पाउरोटी बोकेर घर घर पुगेर बेच्ने काम गर्थे । जेनतेन कक्षा १० सम्म पढे । गाउँमा गुजारा नचलेपछि १४ वर्षको उमेरमा उनी गाउँलेहरुसँग कामको खोजीमा भारत पसे ।

‘मास्टरसेफ युके’मा नेपाली खाना चिनाउँदै सिरहाका सन्तोष

उनका गाउँका अधिकांश मानिसहरु भारतका विभिन्न होटलमा काम गर्थे । उनले गुजरातमा एक होटलमा किचेन पोर्टर आर्थत् भाँडा माझ्ने काम पाए । उनी काम गर्दा होटलमा खाना पकाउने मान्छे अर्थात् सेफसँग बढी प्रभावित बन्न पुग्थे । उनीहरुले लगाउने युनिफर्म र मिठो खाना पस्किने कलाले उनलाई लोभ्याइरहेको थियो । उनी ३ महिनासम्म भाँडा माझेपछि बिस्तारै खाना पकाउन सिक्न थाले । सन्तोष आफ्ना संघर्षका दिन सम्झिँदै सुनाउँछन्, ‘ठूलो होटलमा सेफ बन्न त पढ्नुपर्ने पो रहेछ । मैले पनि काम गर्दै पढ्ने विचार गरें ।’ उनले भारतको सूर्या कलेज अफ होटल म्यानेजमेन्टमा काम गर्दै डिप्लोमाको पढाइ पूरा गरे ।

पढाइ र सीप दुवै भएपछि विस्तारै उनले ठूला होटलमा काम पाउन थाले । काम सुरु गरेको ७ वर्षको अवधिमा उनी तारे होटलमा कार्यकारी सेफको रुपमा काम गर्ने भइसकेका थिए । त्यसपछि कम्प्युटर र अंग्रेजी पढ्न सिके । उनलाई युरोप गएर अझै नयाँ कुराहरु सिक्न इच्छा जागिरहेको थियो । १३ वर्ष भारतका होटलमा काम गरेपछि अवसरको खोजीमा भौतारिँदै सन्तोष सन् २०१० तिर लन्डन पसे ।


...
हालसम्म लन्डनमा उनले ६ वटा रेष्टुरेन्ट र एक तारे होटलमा काम गरिसकेका छन् । साथै थुप्रै सेलिब्रेटी सेफहरुसँग काम गर्ने मौका पनि पाएका छन् । लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा काम गरिरहेका सन्तोष 'मास्टर सेफ युके २०२० च्यालेन्ज'मा एक प्रतिस्पर्धीको रुपमा भाग लिने मौका पाएका छन् । भन्छन्, ‘यो सबै मेरो मिहिनेत र लगावको नतिजा हो । सिक्ने चाहनाले यहाँसम्म ल्याइपुर्‍यायो ।’

उनले यस प्रतियोगितामार्फत् नेपाली खाना विश्वलाई चिनाउने उद्देश्यले भाग लिएको स्पष्ट पारे । नेपाली सेफ प्रतिष्ठित कुकिङ च्यालेन्जमा नेपाली खाना नै लिएर पुगेको यो सम्भवत पहिलो पटक हो । उक्त प्रतिस्पर्धामा ३२ जना उत्कृष्ट प्रतियोगीहरु सहभागी छन् । नोभेम्बर ९ मंगलबारबाट बीबीसीबाट प्रसारण भइरहेको उक्त कार्यक्रममा उनले पहिलो चरणको प्रतिस्पर्धा गरिसकेका छन् । तर, नतिजा अझै आइसकेको भने छैन । सन्तोष हौसिदै भन्छन्, ‘म देखिने कार्यक्रम सम्भवत अर्को हप्ता प्रसारण होला कि । मैले आफ्नो सतप्रतिशत दिएको छु । नेपाली खाना बनाएर देखाएको छु ।’

प्रतियोगितामा जित्छु भन्ने आत्मविश्वास छ ? भन्ने प्रश्नमा सन्तोषले भने, ‘म यो प्रतियोगितामा जित्नको लागि होइन नेपाली खाना प्रवर्द्धनको लागि गएको हुँ । मलाई हार जितले केही फरक पर्दैेन । नेपाली खाना संसारले चिनुन् भन्ने हो ।’

सन्तोषको मुख्य विशेषता भनेको भारतीय परिकारहरु पस्किनु हो । उनी त्यसमा पोख्त भएको दाबी गर्छन् । वर्षौँ भारतीय खानामात्र पस्किए । तर दुई वर्षयता भने उनलाई नेपाली खानालाई उचइमा पुर्‍याउनुपर्छ भनेर लागिपरेका छन् । ‘आफैं नेपाली भएर पनि नेपाली खाना प्रर्बद्धन गर्न नसकेकोमा चित्त दुख्थ्यो । धेरै सोचेँ र अन्ततः मेरो भविष्य यसमै छ भन्ने लाग्यो ।’ उनले इन्स्टाग्राममा विभिन्न नेपाली परिकारहरु बनाएर राख्ने गरेका छन् । पकाउने र पस्किने शैली धेरैले रुचाइदिएका छन् ।

उनले एक वर्ष भित्रमा लन्डनमा नेपाली रेष्टुरेन्ट खोल्ने योजना सुनाए । ठाउँको खोजीमा रहेका उनले रेष्टुरेन्टका लागि नाम पनि जुराइसकेका छन् ‘आइला बाइ सेफ सन्तोष साह ।’ उनका अनुसार यो रेष्टुरेन्टमा हिमाल, पहाड र तराईका मेनुसहित पूर्णरुपमा नेपाली खाना मात्र हुनेछन् । साथै जुन खाना पस्किइन्छ त्यही अनुसारको कला र संस्कृति पनि ग्राहकले हेर्न पाउनेछन् ।

सन्तोषले यो प्रतियोगितामा भाग लिएपछि आफ्नो रेष्टुरेन्टका लागि प्रचारप्रसार पुग्ने विश्वास लिएका छन् । नेपाली खाना विभिन्न टेक्निक अपनाएर पस्किन सिपालु सन्तोषले नेपाली खाना आफैमा मिठो भएपनि पस्किने कला पनि जाने निकै आकर्षक देखिने बताउँछन् । सन्तोष भन्छन्, ‘नेपाली खानाका यति विशेषता र फरक स्वाद छन् जुन विश्वले चाख्न बाँकी छ । हामीले आफ्नै खानालाई चिन्न सकिरहेका छैनौँ ।’

प्रकाशित : कार्तिक २७, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?