पूर्वराज्यमन्त्री गौचनको निधन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वराज्यमन्त्री गौचनको निधन

प्रकाश बराल

बागलुङ — पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । 


विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए । गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए ।

हातैले लेखेर वि सं २००८ सालमा ‘सहीबाटो’ नामको पत्रिका प्रकाशित गरेका थिए । जिल्लाको पत्रकारिताको इतिहासमा गौचनले हातैले लेखेको पत्रिकानै पहिलो भएको रेकर्ड छ ।

व्यापारका लागि झरेका गौचनले बागलुङमा शिक्षा र सामाजिक जागरण ल्याएको इतिहास छ । बाबुको अभियानकै क्रममा छोरा ओमकारप्रसादले पनि शिक्षाको विकासमा लगानी गरेको स्थानीय देबबहादुर श्रेष्ठले बताए । बीपी कोइरालाले २०१५ सालमा उम्मेदबार बनाउन खोज्दा आलोकाँचो छु भनेर उम्मेदवार हुन नचाहेका गौचन २०३६ सालमा खाद्य, कृषि तथा सञ्चार राज्यमन्त्री भएका थिए ।

राजनीतिसँगै समाजसेवामा समेत उत्तिकै सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षक थिए । जिल्लाको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए ।

उनकै पालादेखि सामाजिक व्यक्तिलाई टेलिफोन लाइन वितरणको थालनी भएको थियो । उनका बाबुले १९९७ सालमा विद्यामन्दिर माध्यामिक विद्यालय र विद्यामन्दिर पुस्तकालय खोलेका थिए । दुवै संस्थाको पूर्वाधार विकासमा उनले लाखौं सहयोग गरेको बिद्यालयका प्रअ जगन्नाथ आचार्यले बताए । २०१६ सालमा पहिलो पटक विद्या मन्दिरमा एसएलसी दिएका लालचन्द्र राजभण्डारी भन्छन्, ‘त्यतिबेलाको शिक्षाको विकासमा गौचनका बाबुछोराले ठूलो लगानी गरेका थिए ।’ गौचनका एक छोरा र चार छोरी छन् ।

प्रकाशित : कार्तिक २६, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना

इकान्तिपुर डेस्क

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो ।

फाइल तस्बिर


केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले बताए ।

केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको थियाे । केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन् ।


प्रकाशित : कार्तिक २६, २०७७ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×