'रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ'

दीपेन्द्र शाक्य

संखुवासभा — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले नभई जनताले छानेर पठाएकाले प्रधानमन्त्री भएको बताएका छन् । उनले यति बेला सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएकोसमेत बताए ।

'रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ'

संखुवासभाको किमाथांका नाका, बोर्डर आउट पोस्ट (बीओपी), जोगबनी–खाँदबारी–किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको बुधबार स्थलगत अनुगमनपछि प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

पार्टीभित्र अहिले ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूहले दबाब बढाएका छन् । उनीहरूले बैठक बोलाउनका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र दिएका छन् । दाहाल–नेपाल समूहले आफूविरुद्ध मोर्चाबन्दी गरिरहेको ओलीको बुझाइ छ । यही सन्दर्भमा उनीहरूले बैठक बोलाउन ओलीलाई बिहीबारसम्म समय दिएका छन् । बैठकको दबाब बढिरहेका बेला ओलीले बुधबार पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै महत्त्व दिएको किमाथांका नाका र अरुण तेस्रो परियोजना अवलोकन गर्दै आफूलाई पार्टी विवादभन्दा माथि राष्ट्र र जनताको पक्षमा काम गर्ने व्यक्ति भएको देखाउने कोसिस गरेका हुन् ।

‘५० वर्षअघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँसम्म आइपुगेको हुँ,’ उनले भने, ‘जनताले आवश्यकता देखेर म प्रधानमन्त्री भएको हुँ ।’प्रधानमन्त्री ओलीले जोगबनी–खाँदबारी–किमाथांका सडक सुरक्षित भएको उल्लेख गर्दै यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्डको निर्माण छिट्टै सकिने र चीनबाट सहज ढंगले व्यापार सुरु हुने उनको भनाइ थियो । ‘जोगबनी–किमाथांका सडक नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भने । प्रधानमन्त्री ओलीको अवलोकन भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम, प्रदेश सांसदहरू पनि सहभागी थिए ।

३ सय ६२ किलोमिटरको जोगबनी–किमाथांका सडकको चट्टानी भागमा मात्रै ट्र्याक खोल्न बाँकी छ । च्याम्ताङ घोङघोप्पाको १३ किलोमिटर सडक निर्माण भए जोगबनी–किमाथांका जोडिन्छ । भीर विस्फोट गरेर मात्रै सडकको ट्र्याक खोल्न सकिने भएपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

विस्फोटक पदार्थ राख्न बंकर र सेना बस्नका लागि भवन निर्माणको काम नसकिएकाले सेनाले सडकको काम अघि बढाउन सकेको छैन । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले दुई वर्षदेखि ट्र्याक खोल्ने काम ठप्प रहेको बताए । ‘भीर फुटाएर छिट्टै सडक किमाथांका जोड्नुपर्छ,’ उनले भने ।

भर्खरै स्थापना भएको सशस्त्र प्रहरी बलको बीओपी पनि प्रधानमन्त्री ओलीले स्थलगत निरीक्षण गरेका थिए । दुई वर्षअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा अरुण तेस्रो आयोजनाको शिलान्यास गरेका थिए । अहिले करिब ४० प्रतिशत काम भइसकेको आयोजनाका सीईओ अरुण धिमानले जानकारी दिए ।

प्रकाशित : कार्तिक २६, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?