कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाहाल–नेपाल समूह पछाडि हटे कि अर्को तयारीमा जुटे ?

बबिता शर्मा

काठमाडौँ — कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका बहुमत सदस्यको मंगलबारको अनौपचारिक बैठकले पनि नेकपामा उत्पन्न विवादले कस्तो मोड लिन्छ भन्ने स्पष्ट पारेन ।

दाहाल–नेपाल समूह पछाडि हटे कि अर्को तयारीमा जुटे ?

बरु पहिला सोमबारसम्म र त्यसपछि मंगलबारसम्म सचिवालयको बैठक बोलाउनुपर्ने अडान राखेको दाहाल नेपाल समूह मंगलबार फेरि एक कदम पछाडि हटेका छन् । मंगलबार एक कदम पछाडि हटे पनि दाहाल–नेपाल समूह बिहीबार भने औपचारिक बैठक बस्ने तयारीमा जुटेको छ ।

धुम्बाराहीमा मंगलबार साँझ दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकले बिहीबारसम्म औपचारिक बैठकका लागि पर्खने निर्णय गरेको छ । एक नेताका अनुसार बिहीबारसम्म पनि औपचारिक बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तयार नभए दाहाल–नेपाल समूहले बहुमत सदस्यको बैठक बसाल्ने तयारी गरेको छ ।

उनका अनुसार लिखित आग्रहलाई समेत ओलीले बेवास्ता गरेको र बहुमत सदस्यको मागलाई चुनौती दिएकाले अब औपचारिक बैठकको विकल्प नरहेको ती सदस्यले बताए । बिहीबार बस्ने औपचारिक बैठकले थप निर्णय लिने ती नेताको भनाइ छ ।

धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक अगाडि कार्यकारी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई बिहीबार बैठक बस्ने गरी सहमति गर्न प्रस्ताव गरेका थिए ।

बिहीबार बैठक बोलाउने विषयमा सहमतिका लागि दाहालले आग्रह गरे पनि प्रधानमन्त्री ओलीले सहमति जनाई नसकेको प्रवक्ता श्रेष्ठले बताए । ‘शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । यो बीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन’ अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन ।’

पार्टी मुख्यालयमा सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए । अर्का एक नेताका अनुसार बैठकको प्रस्ताव गर्दा सहमत नभएको बरु ‘भिड्ने भए भिड्नी’ भन्ने जवाफ ओलीले दिएको ब्रिफिङ दाहालले गरेका थिए । त्यसपछि नै दाहाल– नेपाल समूह बिहीबार बहुमत सदस्यको भए पनि औपचारिक बैठक बोलाउने निष्कर्षमा पुगेको हो ।

ओली र दाहाल बीचको भेट अगाडि ओली निकट नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । मंगलबार बिहान खुमलटार पुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन दाहालसँग आग्रह गरेका थिए ।

सोमबार महासचिव विष्णु पौडेललाई बोलाएर प्रधानमन्त्री ओलीले लिखित अनुरोधपत्रमा बैठकको माग भएकाले विधानबमोजिम हुने गरी प्रक्रियामा लैजान निर्देशन दिएका थिए । त्यसपछि प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेलले मंगलबार कार्यकारी अध्यक्षसँग भेटवार्ता गरेका थिए । तर, दुई अध्यक्षबीच बैठकको मितिलाई लिएर मतभेद जारी नै छ । नेकपाको विधानको धारा ५९ को उपधारा २ मा केन्द्रीय सचिवालय बैठक आवश्यकताअनुसार बस्ने उल्लेख छ ।

यसअघि कात्तिक २१ मा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । उक्त बैठकमा औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो । सोहीअनुसार कात्तिक २२ मा अध्यक्ष दाहालसहितका पाँच नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए ।

दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । तर, यो बीचमा प्रधानमन्त्री ओली बैठकका लागि तयार नभएपछि दाहालले फेरि ओलीलाई भेटेर बिहीबार सचिवालयको बैठक प्रस्ताव गरेका हुन् ।

यसैबीच, ओली र दाहालबीच विवाद चर्किंदै गएपछि नेकपा केन्द्रीय अनुशासन आयोगले तत्काल पार्टी बैठक बोलाएर अन्तर्विरोध समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार विज्ञप्ति जारी गर्दै बैठकमा छलफल गरेर अन्तर्विरोध समाधान गर्न ध्यानाकर्षण गराएका थिए ।

दुई अध्यक्षबीच दूरी बढ्दै गएपछि विघटित विवाद समाधान कार्यदलका सदस्यहरूले मंगलबार सामूहिक रूपमा दुवै अध्यक्षलाई भेटेर छलफल गर्ने प्रयाससमेत गरेका थिए । तर, पूर्वमाओवादी समूहबाट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल उपस्थित नभएपछि बालुवाटारमा छलफल सम्भव भएको थिएन ।

प्रकाशित : कार्तिक २५, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?