चामल अनियमितता प्रकरण : शर्मा जमानीमा थुनामुक्त

कान्तिपुर संवाददाता

सुर्खेत — मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउन लागेको आरोपमा पक्राउ परेका शर्मा ढुवानी सेवाका प्रोप्राइटर वासुदेव शर्मालाई प्रहरीले उनका भाइको जिम्मामा थुनामुक्त गरेको छ । प्रहरीले कात्तिक १७ गते शर्मालाई नियन्त्रणमा लिएको थियो ।

चामल अनियमितता प्रकरण : शर्मा जमानीमा थुनामुक्त

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार मुटुसम्बन्धी समस्या देखिएको भन्दै कर्णाली प्रदेश अस्पतालले काठमाडौं रिफर गरेपछि उनका भाइको जिम्मामा थुनामुक्त गरिएको हो । पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले ७ दिन (सोमबार) सम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

‘उनीसँग बयान लिने काम सकिएको छ, म्याद थप्दा प्रहरीलाई पनि सँगै खटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले भाइको जिम्मामा पछि उपस्थित गराउने गरी छाडिएको हो ।’ शर्मा पक्राउ परेपछि दुई दिनमात्र हिरासतमा बसे । छातीमा समस्या देखिएको भन्दै उनी प्रदेश अस्पताल भर्ना भएका थिए ।

शर्माले मुगुको कालै वितरण केन्द्रमा पठाउने भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट उठाएको जापानी चामल कात्तिक १३ गते भक्तपुर पठाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले शर्मामाथि कालोबजारी ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

शर्माले भने सोमबार कम्पनीलाई पत्र लेखेर कालै पुर्‍याइएको चामल बुझिदिन अनुरोध गरेका छन् । कम्पनीबाट उठाएको १ हजार १ सय क्विन्टलमध्ये नियन्त्रणमा लिइएको बाहेक अन्य चामल केही कालै पुगेको र केही बाटोमा रहेको भन्दै चामल बुझिदिन उनले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : कार्तिक २४, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?