कम्युनिस्ट नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दियो : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताएका छन् ।

कम्युनिस्ट नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दियो : सिंह

पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिस्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रटाचार बाहेक केही पनि दिन नसकेको सिंहले बताए ।

गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाईको बहुमत पाएको नेकपा सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको आरोप लगाए । पहिलो संविधानसभामा जनताले म्यान्डेट दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेटविपरीत अस्थिरता र भ्रष्टाचारलाई बढावा दिएको सिंहको भनाई थियो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी, न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताए । प्रधानमन्त्रीले 'आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ' भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा संरक्षण गर्ने काम गरेको पनि उनले आरोप लगाए ।

त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको सिंहको आरोप छ । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको पनि उनले आरोप लगाए ।

सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको सिंहले बताए । नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञ खोजेको उल्लेख गर्दै अहिलेका नेताहरु पनि सच्चिनुपर्ने सिंहले बताए ।

प्रकाशित : कार्तिक २४, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?