महिलाले मात्रै धानेको स्वास्थ्यचौकी

प्रकाश बराल

बागलुङ — दुर्घटनाका घाइते तथा अन्य बिरामी ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको स्वास्थ्यचौकी पुग्दा प्रमुखको खोजी गर्छन् । आफ्नो परिचय दिँदै स्वास्थ्यचौकी इन्चार्ज शान्ति पुन झुल्किन्छिन् । 

महिलाले मात्रै धानेको स्वास्थ्यचौकी

उनकै नेतृत्वमा चार महिलाले एक वर्षदेखि स्वास्थ्यचौकीमा सेवा दिइरहेका छन् ।हेल्थ असिस्टेन्ट शान्तिसहित अहेब गीता घर्ती मगर, योजना पुन र अनमी विष्णु सापकोटाले चौकी सम्हालेका छन् । महिला मात्र देखेर धेरै पुरुष बिरामीले समस्या बताउन नखोज्ने शान्तिको अनुभव छ । त्यसकारण पनि उपचार गर्न महिला धेरै आइपुग्छन् । ‘हरेक बिरामीले पुरुष स्वास्थ्यकर्मी खोज्छन् । म हुँ प्रमुख, भन्नुहोस् तपाईंको समस्या के छ भन्दा नसुनेझैं गर्छन्,’ उनले भनिन्, ‘महिला भएर उपचार गर्न सक्दैनन्, संस्थाको नेतृत्व गर्न सक्दैनन् भन्ने भावना धेरैको देखिन्छ ।’

उनका अनुसार महिला बिरामीले खुलेर आफ्नो समस्या राख्छन् । सानै उमेरमा विवाह गर्दा आइपर्ने स्वास्थ्य समस्या लिएर धेरै बिरामी आउँछन् । ‘उपचारमा आएकाले महिला मात्रै देखेपछि समस्या बताउन खुसी मान्छन्,’ शान्तिले भनिन्, ‘पुरुष बिरामीले भने सामान्य कुराकानीपछि फर्कने बहाना बनाउन थाल्छन् ।’ महिनामा ४ सय जनाले यहाँ सेवा लिँदै आएका छन् । यो स्वास्थ्यचौकी बर्थिङ सेन्टर पनि हो । पहिले घरमै बच्चा जन्माउने जोखिम मोल्नेहरू अहिले स्वास्थ्यचौकी आउन थालेका छन् । केही वर्षअघिसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुने शून्यजस्तै थिए । अहिले बढेका छन् । गत आर्थिक वर्षमा मात्रै २७ महिला सुत्केरी भएका थिए । कतिपयले घरपरिवारको समस्या पनि स्वास्थ्यचौकीमा आएर बताउँछन् । यस्तोमा स्वास्थ्यचौकीका कर्मचारीले सहजीकरण गरिदिन्छन् । स्वास्थ्यचौकीले क्षयरोग लागेकालाई प्रत्यक्ष निगरानीमा औषधि खुवाउने डट्स कार्यक्रम पनि चलाएको छ ।

स्वास्थ्यचौकीमा कार्यालय सहयोगी पनि महिला छिन् । सबै महिला मात्रै भएकाले काम गर्न उत्तिकै सजिलो भएको अहेब गीता घर्ती मगरले बताइन् । महिलाले नै मासिक खोप कार्यक्रम चलाएका छन् । महिला स्वास्थ्यकर्मी भएकाले सुत्केरी, गर्भवती र यौनसम्बन्धी समस्या परेका महिलाले सहजै सुविधा पाएका छन् । ‘पुरुषको तुलनामा महिलाका धेरै समस्या हुन्छन्, त्यसैले सेवा लिन पनि आउनुहुन्छ,’ अनमी विष्णु सापकोटाले भनिन्, ‘महिलाको टिम देखेपछि उपचारका लागि पनि तयार हुन्छन् ।’

स्वास्थ्यकर्मीको सक्रियताबाट नगर स्वास्थ्य प्रमुख घनश्याम चालिसे खुसी छन् । ‘महिला मात्र भएकाले मिलेर काम गर्नुभएको छ, समस्या पनि छैन,’ उनले भने, ‘स्थानीय महिलाका समस्या पनि धेरै समाधान भएका छन् ।’ नगर उपप्रमुख करमती पुनका अनुसार न्यायिक समितिमा आउनेले पनि स्वास्थ्यचौकीबाट सल्लाह मागेको बताउने गरेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?