१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउवा : हिलोमा गाडिएको किलो [टिप्पणी]

गंगा बीसी

काठमाडौँ — पार्लियमेन्ट डट यूकेका अनुसार प्रमुख प्रतिपक्ष दलको भूमिका यस्तो छ, सरकारको कामबारे प्रश्‍न गर्ने र नजिकबाट सुक्ष्म तरिकाले निगरानी गर्नु हो । 

देउवा : हिलोमा गाडिएको किलो [टिप्पणी]

नेपालको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भूमिका हेर्ने हो भने यो त्यत्ति परिभाषा मिल्दैन । यतिबेला कांग्रेस कहाँ छ ? सानेपा आइसोलेसनमा कि बुढानिलण्ठ सभापति शेरबहादुर देउवा निवासमा ? कोरोना महामारीका कारण संसद् अधिवेशन हुन सकेको छैन, यही मौकामा कांग्रेसका लागि बोल्न बाध्य छैन । सरकारलाई बिरोधको स्वर सुन्नु परेको छैन । किनकि देउवाको स्वर बालुवाटारसम्म सुनिने खालको छैन । अर्थात् प्रमुख प्रतिपक्ष कांग्रेस क्वारेन्टाइनमा चुप लागेर बसेको छ ।

नेकपा सरकारका लागि राजमार्ग पूरै खाली छ । ऊ जता पनि हुँइकिन सक्छ । प्रमुख प्रतिपक्ष कांग्रेस राजमार्ग छोडेर गोरेटोतिर लागिसकेको छ । उसले नेकपाका लागि राजमार्ग खाली छाडेको छ, सरकारका लागि कुनै अवरोध छैन । के लोकतन्त्रमा प्रमुख प्रतिपक्षको भूमिका सत्तापक्षलाई राजमार्ग खुला गर्नु हो ? लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष बलियो भएन भने शासन संचालन जनपक्षीय हुन सक्दैन भन्ने मान्यता छ । प्रतिपक्ष मौन बस्नुको अर्थ सरकारलाई मौन समर्थन गर्नुसरह हो ।

०००

सरकारले एक महिनाअघि कोरोनाको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेपछि धेरैलाई लागेको थियो, प्रमुख प्रतिपक्ष कांग्रेसले चर्को विरोध गर्ने छ । सरकारले गरेको यो निर्णयले खासगरी विपन्न वर्ग निराश भएका बेला कांग्रेसले सरकारमाथि चर्को दबाब सिर्जना गर्ला भन्ने अनुमान थियो । सरकारको यो निर्णयको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मधुरो स्वरमा विरोध त गरे, त्यत्ति त्यत्ति नै बेला हावामा बिलायो ।

पार्टी सभापति शेरबहादुर देउवाको ध्यान भने यतिबेला जनताका सवालमा जाँदैन । उनले कोरोना महामारीको दुःखमा मलम लगाउने गरी पार्टीबाट कुनै निर्णय गराउने ध्यानमा छैनन् । उनको ध्यान पार्टी महाधिशेनतिर केन्द्रित छ । महाधिवेशनमा सभापति चयन हुनका लागि उनले पार्टीमा हुने, नहुने कदम चालिरहेका छन् । जसरी पनि फेरि पार्टी सभापति हुने ध्याउन्नमा उनी छन् । त्यसकारण सरकारले जे ताण्डव गरे पनि उनी मुकदर्शक भइरहन्छन् । बरु उनको ध्यान प्रतिपक्षको भूमिका भन्दा सरकारसँग भागबण्डामा सरिक हुन्छन् । सरकारले गर्ने नियुक्तिमा उनले पार्टीमा भाग खोज्छन् ।

....................................................................................

कांग्रेस सभापति देउवाको ध्यान बलियो प्रतिपक्ष हुनेभन्दा पार्टीमा आफूमात्र बलियो हुनेतिर केन्द्रित भयो । पार्टी कमजोर र नेता शक्तिशाली हुने परिपाटीले अन्ततः लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँछ । पार्टी बलियो भए, नेता स्वतः बलियो हुन्छन्, लोकतान्त्रिक प्रणाली बलियो भयो भने सबै बलिया हुन्छन् ।

एउटा तीतो यथार्थ के हो भने नेपालका राजनीतिक पार्टीहरुमा असल संस्कार अभावका कारण उनीहरु सत्तामा भए पनि, बाहिर भए पनि दलीय/व्यक्तिगत भागबन्डामा बढी केन्द्रित हुन्छन् । असल राजनीतिक प्रणाली भएरमात्र पुग्दैन, त्यसअनुकूल पार्टी र नेताहरुको संस्कार भएन भने जतिसुकै राम्रो व्यवस्था भए पनि बिसंगतिले भरिपूर्ण हुन्छ । खासगरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मुलुकमा शासन प्रणालीमा राजनीतिक दल फेरिएलान् भन्ने अपेक्षा थियो । सत्तापक्ष, प्रतिपक्षले विगतका कमजोरीबाट शिक्षा लिएर नयाँ गतिमा अघि बढ्ने आशा र भरोसा थियो । सत्तापक्ष र प्रतिपक्षको राजनीतिक संस्कारमा फरक छुट्याउन गाह्रो छ । कांग्रेस सभापति देउवाको ध्यान बलियो प्रतिपक्ष हुनेभन्दा पार्टीमा आफूमात्र बलियो हुनेतिर केन्द्रित भयो । पार्टी कमजोर र नेता शक्तिशाली हुने परिपाटीले अन्ततः लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउँछ । पार्टी बलियो भए, नेता स्वतः बलियो हुन्छन्, लोकतान्त्रिक प्रणाली बलियो भयो भने सबै बलिया हुन्छन् । तर देउवा पार्टी सभापति भएयता आफूमात्र बलियो हुने ध्यानमा राखे, यसको परिणाम अन्ततः उनी आफैं कमजोर हुने अवस्थामा पुगेका छन् ।

हाल कांग्रेसको भूमिका प्रतिपक्षको जस्तो होइन, सत्तापक्ष दलको अंगको रुपमा छ । प्रधानमन्त्री निवास बालुवाटार, कांग्रेस सभापति निवास बुढानिलकण्ठको सम्बन्ध सत्तापक्ष र प्रतिपक्षको जस्तो छैन । किनभने सरकारका अप्रिय निर्णयलाई देउवाले मौन समर्थन गरिदिन्छन् । सरकारका कामकारबाहीमा प्रश्‍न गर्न भातृ संगठनलाई बिरोधमा उतार्छन्, न आफैं अघि सरेर सरकारका कामप्रति प्रश्‍न गर्छन् ।

संविधान निर्माणका क्रममा राष्ट्रिय जनमोर्चा नेता चित्रबहादुर केसीले पूर्व एमालेलाई हिलोमा गाडिएको किलोको संज्ञा दिँदै व्यंग्य गरेका थिए । त्यसबेला एमाले कहिले माओवादी, कहिले कांग्रेसतिर ढल्केकोले केसीले त्यसो भनेका थिए । अहिले अवस्थामा भने फरक छ, पछिल्ला गतिविधि हेर्दा कांग्रेस हिलोमा गाडेको किलो जस्तै छ । सत्ता पक्षले जता तान्यो देउवा उतै ढल्किने गरेका छन् । जसका कारण पुरानो मास पार्टी कांग्रेस सत्तापक्षसामु निरीह देखिएको छ ।

दुई तिहाइ नजिक नेकपामा चर्को अन्तरसंघर्ष हुँदा देउवाको मुहार उज्यालो देखिन्छ । अझ नेकपामा फुटको संघारमा भएको खबरले उनको दिल खुश हुन्छ । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संघर्ष हुँदा देउवाका आँखा सिंहदबार प्रधानमन्त्री कुर्सीसम्म पुग्छन् । कल्पनामै भए पनि उनी नेकपा विभाजन भएपछि प्रधानमन्त्री भएको सपना देख्छन् ।

०००

सरकारले गरेका कामलाई निगरानी र प्रश्‍न गर्ने भन्दै कांग्रेसले छायाँ सरकार बनाएको थियो । त्यो छायाँ सरकार नेकपा सरकारको छायाँमा परेको छ । छायाँ सरकारको तर्फबाट नेता रामचन्द्र पौडेल, गगन थापा र विश्वप्रकाश शर्माको आवाज सुनिन्छ । छायाँ सरकारका अरु मन्त्रीहरु कुन दुलामा पसे होलान् ? ती पनि सभापति देउवा पथलाई पछ्याउँदै नेकपा सरकारको साक्षी बनिरहेका छन् ।

नेकपा सरकार कता जाँदैछ भन्ने कुरा छायाँ सरकार अर्थात् कांग्रेसका नेताहरुलाई राम्रो थाह हेर्नुपर्ने हो । हरेक छायाँ मन्त्रीले नेकपा सरकारका मन्त्रालयको नजिकबाट निगरानी गर्ने, प्रश्‍न गर्ने र आवश्यक परे सरकारलाई सिर्जनात्मक सुझाव दिने हो । यो काममा पूर्वस्वास्थ्यमन्त्री रहेका थापाले कोरोना नियन्त्रणका लागि सक्रियता देखाए, अरु छायाँ मन्त्रीहरु ओझेलमा परे । उनीहरुले सरकार कामकारबाहीमा सक्रियतापूर्वक भाग लिएनन् नै, त्यसलाई निगरानी गर्न सिक्को पनि भाँचेनन् । लामो समय सरकार संचालन अनुभव भएका नेताहरुले चाहेमा धेरै प्रश्‍न गर्ने ठाउँ छ । कोरोना संक्रमण तीव्र भइरहेको बेला सरकारले सबैतिर हात झिकिरहेको बेला प्रतिपक्ष दलका नेताहरु खरो उत्रन नसक्नु भनेको जनतामाथि थप मार पर्नु हो ।

सरकार जति बलियो हुन्छ, त्यत्ति नै बलियो छायाँ सरकार चाहिन्छ । छायाँ सरकार लाचार भयो भने सरकार स्वेच्छाचारी हुने खतरा रहन्छ । कांग्रेसलाई गएको निर्वाचनमा गुमाएको मतदाताको मन जित्ने अवसर प्रतिपक्षलाई थियो र छ । सरकारको विरोधका लागि विरोध गरेर होइन, जायज प्रश्‍न गरेर, रचनात्मक सुझाव दिएर, सरकारलाई जनपक्षीय काम गर्न दवाव दिएर गुमेको राजनीतिक भूमि फिर्ता गराउने मौका थियो ।

००००

प्रमुख प्रतिपक्ष दलको नेताका देउवाले हैसियतले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन महत्वपूर्ण भूमिका खेल्न सक्थे । सत्य निरुपण मेलमिलाय आयोग, बेपत्ता छानविन आयोगका काम अघि बढाउन उनको भूमिका महत्वपूर्ण हुन्थ्यो । संघीयता सम्बन्धी बा“की कानुन निर्माणमा सरकारलाई झकझक्याउन सक्थ्यो । संघ (केन्द्र) र प्रदेश सरकारमा उसले चोटिलो उपस्थिति देखाउने मौका थियो, जसका कारण सरकार हरेक निर्णय गर्दा सेचत हुन्थ्यो । यतिबेला कांग्रेसलाई भाइसर लागेको भन्न नसुहाउला तर यथास्थितिवादमा हराएको भन्न सकिन्छ ।

कोरोना महामारीको मारमा परेका नागरिकका लागि पार्टीले सहयोग गर्ने नेता कार्यकर्ता परिचालन गर्ने काममा देउवा चुके । कांग्रेसले जितेका स्थानीय सरकारलाई कोरोना नियन्त्रण र मारमा परेको व्यक्तिका लागि प्रभावकारी बनाउन भूमिका खेल्न सक्थे ।

दुःखको बेला नहेर्ने पार्टीलाई चुनावका बेला मतदाताले हिसाब गरेर राखेको हुन्छन् । राजनीतिक पार्टीले संकटलाई अवसरमा बदल्ने मौकालाई देउवाले नेतृत्व गर्न सकेनन् । प्रतिपक्षको धर्म नबुझेका होइनन्, पार्टीभित्र विश्वास सृजना गरेर काम गर्न नसकेका हुन् । उनीसरकारको आमनेसामने होइन, पछिपछि हिडिरहेका छन् ।

०००

लामो समय कांग्रेस कोइराला परिवारको कब्जामा रह्यो । कोइराला परिवार बीपी, जीपी र सुशीलपछि कांग्रेस हाक्ने मौका पाएका देउवाले त्यो अवसर सदुपयोग गर्न सकेनन् । उनले पार्टीलाई यसरी चलाए कि कांग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? भन्ने प्रश्‍न उठ्न थालेको छ ।

आफू नमरुञ्जेल पद नछाड्ने दीर्घ रोग नेपालका सबै पार्टीमा छ । देउवा अझ त्यसको बढी भोका छन् । अरु जे होस्, आफ्नो पद धरापमा नरोस् भन्ने कुरामा देउवा सधैं चनाखो भइरहन्छन् । त्यसका लागि उनले पार्टीको आन्तरिक लोकतान्त्रिक पद्धति बिर्से । उनले दोस्रो पुस्ता र युवा पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा अनुदार भइरहे । उनले पार्टीभन्दा बढी गुट चलाइरहे, जसले कांग्रेसलाई झन् कमजोर बनाएको छ ।

प्रकाशित : कार्तिक २१, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?