मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने - 'अविश्‍वासको सामना गर्दै अस्थिरताका प्रयत्न चकनाचुर पारिनेछ'

जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । आफूले कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएको एकदिन पछि प्रधानमन्त्रीले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताएका हुन् । 

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने - 'अविश्‍वासको सामना गर्दै अस्थिरताका प्रयत्न चकनाचुर पारिनेछ'

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा प्रधानमन्त्रीले पार्टीभित्र विभिन्न ठाउँमा चलखेल भइरहेको बताएका हुन् । एक मन्त्रीकाअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले पार्टीभित्र जारी विवादतर्फ संकेत गर्दै मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए ।

'पार्टीमा गुटबन्दी चलिरहेको छ । सरकारलाई असहयोग गर्ने कुरा भइरहेका छन् । कोटेश्वरमा अहिले पनि गतिविधि भइरहेका छन् भन्नुभयो,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, 'प्रधानमन्त्रीले बैठकको सुरुमै विश्वास, अविश्वासका कुरा चल्दैछन् त्यसको सामना गरिनेछ भन्नुभयो ।'

सरकार ढाल्नेबारे गतिविधि भनइरहेको भन्दै प्रधानमन्त्रीले अस्थिरता हुन नदिने मन्त्रीहरूलाई बताएका थिए । 'त्यस्ता अस्थिरताका प्रयत्नहरूलाई चकनाचुर पारिनेछ,' प्रधानमन्त्रीले भनेको कुरा ती मन्त्रीले सुनाए ।

प्रधानमन्त्रीले यसअघि पनि पार्टीमा विवाद उत्पन्न हुँदा मन्त्रीहरूलाई आफ्नो कित्तामा बस्ने कि पार्टीमा आफ्नो विपक्षमा उभिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिने हो भनेका थिए । साउन महिनामा चलेको विवादका बेला उनले मन्त्रीहरूलाई कित्ता छुट्याउन भनेका थिए । यसपटक भने आफ्ना कुरा मात्रै राखेको तर कित्ता छुट्याउन नभनेको अर्का एक मन्त्रीले बताए ।

पार्टीभित्र विवाद चर्किएका बेला प्रधानमन्त्रीले बुधबारमात्रै कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । बिहीबार भने उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएमा सामना गर्ने बताएका हुन् । आफ्नो विपक्षमा रहेका दाहाल र नेपाल खेमाले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने ओलीको आशंका रहेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठक चलिरहेका बेला दाहाल र नेपालले पार्टीमा आबद्ध कानुन व्यवसायीसँग छलफल गरेका थिए । पार्टी कार्यालय कोटेश्वरमा बैठक चलिरहेको तर्फ संकेत गर्दै प्रधानमन्त्रीले 'कोटेश्वरमा चलखेल चलिरहेको' बताएका हुन् ।

संसदीय दलमा ओली पक्षले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै आएको छ । यसअघि पनि ओली पक्षले बालुवाटारमा नै सांसदहरूलाई बोलाएर आफ्नो पक्षमा हस्ताक्षर गर्न लगाएको थियो । पछिल्लो समय भने दाहाल- नेपाल पक्षले प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीविरुद्ध हस्ताक्षर अभियान चलाएको ओली पक्षको दाबी छ ।

पछिल्लो समय नेकपामा कर्णाली प्रदेशको विवादसँगै स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको, मन्त्रिपरिषद् विस्तारबारे पार्टी कमिटीमा छलफल नगरेको, राजदूत सिफारिसबारे पार्टीसँग सल्लाह नगरेको, भारतीय खुफिया एजेन्सी 'रअ'का प्रमुख सामन्त गोयलसँग गोप्य भेट गरेको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग दाहाल-नेपाल खेमा असन्तुष्ट छ ।

प्रकाशित : कार्तिक २०, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?