कोरलामा बीओपी भवनको शिलान्यास

घनश्याम खड्का

म्याग्दी — चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) भवनको शिलान्यास भएको छ । ६ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने भवनको बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गरेका हुन् ।

कोरलामा बीओपी भवनको शिलान्यास

‘कोरला नाका नजिकै बीओपी रहने भवनको शिलान्यास भएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले भनिन्, ‘सशस्त्र प्रहरी बलका नाममा जग्गा प्राप्त भएलगत्तै बीओपीका लागि स्थायी संरचना निर्माण सुरु भएको हो । सशस्त्र प्रहरीको उपस्थितिले कोरला नाकाबाट हुन सक्ने सबैखाले अवाञ्छित गतिविधि नियन्त्रण हुनेछ ।’

सरकारले गत जेठ १६ मा कोरला नाकादेखि १२ किलोमिटर तल लोमन्थाङ गाउँपालिका–१ छोसेरको नेचुङस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालय भवनमा दुई कोठा छोडेर बाँकी कोठामा बीओपी स्थापना गरेको थियो । यहाँ यसअघि नै नेपाल प्रहरीको भने उपस्थिति रहँदै आएको छ ।

नेपालको चीनसँग मुस्ताङमा मात्रै १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ । यो खण्डमा १८–३३ सम्मका १६ वटा सीमास्तम्भ छन् । नेचुङमा रहने उक्त बीओपी स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना सशस्त्र प्रहरी खटाइएको छ । सरकारले भारत र चीनसँग सीमा जोडिएका १ सय २२ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ ।

गत वैशाख ३१ मा भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्र नजिकै पर्ने व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरीको १०७ औं बीओपी स्थापना गरेलगत्तै चीन सीमावर्ती कोरलामा पनि बीओपी राखेको हो ।

यसअघि २०६६ फागुनमा चीनले उपल्लो मुस्ताङमा चीन विरोधी गतिविधि बढेको गुनासो गरेपछि सरकारले चण्डिका सशस्त्र प्रहरी गण पर्वतबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४६ जनाको टोली नेचुङमा सीमासुरक्षा पोस्ट खडा गर्न खटाएको थियो  । तर पर्वतबाट नेचुङमा सीमा सुरक्षार्थ जानुपर्ने टोली बाक्लो हिमपातले हिँड्न नसकेको कारण देखाई जोमसोमस्थित कभर्ड हलमा बसेको थियो ।

नेपाली पक्षले सीमासुरक्षा पोस्ट स्थापना गरेको बताए पनि व्यवहारमा कार्यान्वयन नगरिएपछि चीनले कोरला नाकामा काँडेतार लगाएको थियो ।

प्रकाशित : कार्तिक २०, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?