कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपा एकता जोगाउन भूमिका खेल्न गौतमलाई राष्ट्रपतिको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दलभित्र देखिएको राजनीतिक तनावलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छन् ।

नेकपा एकता जोगाउन भूमिका खेल्न गौतमलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति भण्डारीले बोलाएपछि अपरान्ह शितल निवास पुगेका गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपाली पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएकी छन् । ‘राष्ट्रपतिले गौतमलाई पार्टी एकता संकटमा परेको बेला विगतमा पनि तपाईंले पटक पटक एकता जोगाउने काम गर्दै आउनुभएको हो । अहिले पनि तपाईं त्यो भूमिकामा गम्भीर ढंगले लाग्नु पर्यो भन्नु भएको छ,’ सुवेदीले भने ।

जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएको प्रेस सल्लाहकार सुवेदीले बताए । सुवेदीका अनुसार गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेका छौं । पार्टी एक रहन्छ, म व्यक्तिगत रुपमा पनि यो पक्षमा क्रियाशिल छु’भनेका थिए ।

शनिबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तनावपूर्ण संवाद भएपछि महासचिव विष्णु पौडेलले नेकपा एकीकृत अस्तित्व संकटमा परेको बताएका थिए । त्यसपछि पनि विवाद समाधानमा कतैबाट पनि ठोस पहल नभएकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमसँग भेट गरेकी हुन् । आइतबार दाहालले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको दाबी सुनाएका थिए ।

विगतमा नेकपामा शक्ति संघर्ष हुँदा गौतमले ६ बुँदे प्रस्ताव सारेर पार्टी एकताका लागि पहल गरेका थिए । नेकपाको तनावमा राष्ट्रपति भण्डारीले चासो राख्दै आएकी छन् । कतिपय मुद्दामा त उनले ओली र दाहालबीच मध्यस्थताको भूमिकासमेत खेलेकी छन् ।

प्रकाशित : कार्तिक १८, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?