कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछ : भारत

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले बुधबारदेखि हुने आफ्ना स्थल सेना प्रमुखको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछ : भारत

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सञ्‍चारकर्मीहरुको जिज्ञासामा काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले त्यस्तो धारणा राखेका हुन् । ‘जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउनेछ,’ प्रवक्ता कुमारले भनेका छन् । साथै उनले भ्रमणले दुई पक्षीय रक्षा साझेदारीका क्षेत्रका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई थप सुदृढ बनाउन नयाँ अवसरहरुको ढोका खोल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

भारतीय स्थलसेना प्रमुख नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा बुधबार नेपाल आउँदैछन् । नरवणेले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई देशबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार प्रधानसेनापति थापाको औपचारिक निम्तोमा नरवणे नेपाल आउन लागेका हुन् ।

कालपानीलगायतका सीमा विवादका कारण विगत केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा हार्दिक सम्बन्ध कायम नरहेका बेला नरवणेको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । विश्लेषकहरुले नरवणेको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडि बढाउन सहयोग मिल्ने अपेक्षा गरेका छन् ।

गत वैशाखमा भारतले एकतर्फी ढंगले चीनको मानसरोवर जोड्ने पिथौरागढ–लिपुलेक सडकखण्डको उद्घाटन गरेयता दुई देशबीचको तिक्ततापूर्ण रहँदै आएको छ । भारतले उक्त सडक आफ्नो भूमिमा निर्माण गरेको भन्दै नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो ।

नेपालका तर्फबाट जनाइएको उक्त विरोधका पछाडि विदेशी शक्तिको हात रहेको अभिव्यक्ति दिएपछि नरवणेको चर्को आलोचना भएको थियो । त्यसपछि नरवणेले आफ्नो अघिल्लो अभिव्यक्तिलाई सच्चाउँदै नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका थिए । तर, त्यसपछि पनि सीमा विवादलाई लिएर दुई देशबीच सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

नेपालले औपचारिक रुपमै लिपुलेक सडकप्रति भारतसमक्ष विरोध जनायो र सीमा विवाद सम्बन्धी छलफल गर्नका लागि आग्रह गर्‍यो । तर, भारतले नेपालले गरेको उक्त आग्रह गरेको बेवास्ता गर्दै कोरोना महामारीपछि मात्र सीमा विवादसम्बन्धी बैठक राख्न सकिने जवाफ दिएको थियो । तर, यता नेपालले ऐतिहासिक प्रमाणलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्‍यो ।

नेपालको नयाँ राजनीतिक नक्सालाई भने भारतले कृत्रिम भन्दै अस्वीकार गर्दै आएको छ । नेपालले भने त्यही नक्साका आधारमा संविधान समेत संशोधन गर्‍यो । त्यसबाट थप आक्रोशित बनेको भारतले सीमा विवाद छलफलका लागि नेपालले नै वातावरण बनाउनुपर्ने बताउँदै आएको छ । जसले गर्दा राजनीतिक तहमा औपचारिक संवाद हुन सकेको छैन ।

यसबीचमा भारतको स्वतन्त्रता दिवसका दिन दुई देश प्रधानमन्त्रीबीच संक्षिप्त टेलिफोन कुराकानी भएको थियो । संक्षिप्त नै भए पनि उक्त कुराकानीलाई देशको राजनीतिक नेतृत्वबीच लामो समयदेखि कायम संवादीनतामा ‘आइसब्रेक’का रुपमा हेरिएको थियो ।

यो पृष्ठभूमिमा नरवणेको चार दिने भ्रमण मूलत: परम्पराको निरन्तरता भए पनि यसले दुई देशबीच राजनीतिक संवाद बढाउन सहज वातावरण निर्माणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाली सेनाले अघिल्लो साता सार्वजनिक गरेको नरवणेको भ्रमण तालिकाका अनुसार काठमाडौंमा रहँदा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : कार्तिक १८, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?