पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापानले ‘अर्डर अफ दि राइजिङ सन’ बाट सम्मानित गर्ने 

नेपाल-जापान सम्बन्ध सुदृढीकरणका लागि उल्लेखनीय भूमिका खेलेको जापान सरकारको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन’ विभूषण प्रदान गर्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत उक्त विभूषण प्रदान गर्ने भएको हो ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापानले ‘अर्डर अफ दि राइजिङ सन’ बाट सम्मानित गर्ने 

जापान र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई उक्त अवार्ड दिन लागेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् १९८६ मा तत्कालीन पर्यटनमन्त्री रहेका पाण्डेले जापान, नेपाल र चीनको संयुक्त आरोही टोलीलाई सगरमाथा आरोहणमा हौसला प्रदान गरेको पनि दूतावासले उल्लेख गरेको छ । साथै सन् २००२ मा सूचना तथा सञ्चारमन्त्री रहँदा नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक इकाई कावागुचीको तस्बिरअंकित हुलाक टिकट प्रकाशन गर्न पनि नेतृत्वदायी भूमिका खेलेका थिए । सन् २००५ मा तत्कालीन परराष्ट्रमन्त्री रहेका पाण्डेले तत्कालीन युवराज पारस साह र युवराज्ञी हिमानी शाहसहित जापान भ्रमण गरेका थिए । तत्कालीन जापानी प्रधानमन्त्री ऱ्युतारो हासिमोतोसँग पनि पाण्डेको राम्रो व्यक्तिगत सम्बन्ध रहेको दूतावासले उल्लेख गरेको छ ।

पाण्डेले मंगलबार बिहान जापानी विदेशमन्त्री तोसिमित्सु मोतेजीले पत्र पठाएर ‘दिव्पक्षीय सम्बन्ध मजबुत बनाउन उल्लेखनीय भूमिका खेलेकाले उक्त विभूषण प्रदान गरिएको’ सूचना दिएको कान्तिपुरलाई बताए ।

जापान सरकारले वसन्त र शरद ऋतु पारी वर्षको दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिने गरेको छ । जापान सरकारले अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका थिए ।यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ ।

यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो ।

जापानले कूटनीति, अनुसन्धान र शिक्षा, औषधोपचार तथा समाज कल्याण, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुऱ्याउने व्यक्तिलाई उक्त विभूषणबाट सम्मानित गर्दै आएको छ । यस पटक जापान सरकारले विभिन्न देशका विभिन्न क्षेत्रका ६० जना व्यक्तिलाई विभूषित गर्ने घोषणा गरेको हो । दक्षिण एसियाबाट भने यस पटक उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डे मात्रै हुन् ।

प्रकाशित : कार्तिक १८, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?