आपराधिक घटनाले गाउँलेमा त्रास- समाचार - कान्तिपुर समाचार

आपराधिक घटनाले गाउँलेमा त्रास

गणेश चौधरी

टीकापुर — लगातारको आपराधिक घटनाले कैलालीको जानकी गाउँपालिकामा रहेको अमौरी गाउँ त्रसित बनेको छ ।दसैंको अष्टमीका दिन भएको सामूहिक बलात्कारको घटना र दसैंलगत्तै एक युवकको हत्याले गाउँ त्रसित बनेको हो ।

‘लगातारको दुई बेग्लाबेग्लै घटनाले गाउँमा कसरी सुरक्षित बस्ने भन्ने समस्या लाग्न थालेको छ,’ स्थानीय जयप्रकाश दहित थारूले भने, ‘केही वर्षअघिसम्म गाउँमा सामान्य झैझगडा भए पनि यस्ता गम्भीर आपराधिक घटना भएको थाहा पाइएन । अहिलेको दुइटा लगातारका घटनाले त हाम्रो पुरानो बस्ती कति असुरक्षित रहेछ भन्ने महसुस हुन थालेको छ ।’

जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको अष्टमीका दिन नाचगान हेर्न गएका गाउँकै दुई बालिकामाथि नौ जनाको समूहले सामूहिक बलात्कार गरेको थियो । त्यसको केही दिनमै एक जना युवकको कुटपिटबाट मृत्यु भएको घटनाले गाउँको शान्त माहोल खलबलिन पुगेको स्थानीय बताउँछन् । बलात्कारमा संलग्न नौ जनामध्ये आठ जना घटनाकै दिन पक्राउ परेका हुन् । एक जना भने हालसम्म फरार छन् । प्रहरीका अनुसार कुटपिट गरी हत्या गरेको घटनाका तीन जना अभियुक्त पनि पक्राउ परिसकेका छन् ।

अहिलेको घटनाले सबै गाउँलेलाई झस्काएको जयप्रकाशले सुनाए । उनले भने, ‘लम्की बजारनजिकै भएकाले यो गाउँमा रेस्टुरेन्ट र पसल पनि सञ्चालन भएका छन् । चहलपहल पनि बढेको थियो । सबैलाई सुरक्षित भएको लाग्थ्यो । तर त्यस्तो रहेनछ ।’ कामविशेषले कतै गए पनि साँझ चाँडै घर फर्कनुपर्ने बाध्यता रहेको उनले बताए ।

गाउँ अशान्त बनेपछि स्थानीयलाई सुरक्षित रहन जानकारी गराइएको गाउँका अगुवा बडघर मनिराम चौधरीले बताए । ‘अत्यावश्यक काममा बाहेक राति ननिस्कन सबैलाई खबर गरेका छौं,’ उनले भने, ‘तिहार नजिकिँदै छ, बाजागाजा बजाउने काम पूर्ण रूपमा बन्द गर्न भनेका छौं ।’ उनका अनुसार अहिलेको नयाँ पुस्ता नशालु पदार्थ सेवन गर्ने अनि जथाभावी झैझगडा गर्ने गर्नाले हिँडडुल गर्नै अप्ठ्यारो स्थिति आएको हो ।

अमौरी गाउँमा करिब दुई सय घरपरिवारको बसोबास छ । अधिकांश थारू जातिको बसोबास रहेको यो गाउँ लम्की बजारबाट तीन किलोमिटर र टीकापुरबाट करिब ११ किलोमिटर दूरीमा छ । यहाँ लसुन कटेज सञ्चालन गरिरहेका राजकुमार चौधरीले दसैंका बेलाको घटनाका कारण व्यापार व्यवसायमा असर परेको सुनाए । ‘साँझ निकै चहलपहल हुन्थ्यो,’ उनले भने, ‘पूरै गाउँ आजभोलि सम्साँझै सुनसान हुने गरेको छ ।’

अमौरीमा आपराधिक घटना भएपछि प्रहरी परिचालन पनि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित : कार्तिक १८, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

फेरि सामूहिक बलात्कार

संलग्नमध्ये ८ पक्राउ, एक फरार
गणेश चौधरी

टीकापुर — कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको चहलपहल थियो । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान गरेर रमाइरहेका थिए । रमाइलो हेर्न बालिकाहरू पनि गएका थिए । तर घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परे । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे ।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन् । परिवारले वडाध्यक्षलाई खबर गरे ।

वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार गर्‍यो । टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए । तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए । घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सामूहिक बलात्कारमा परेका दुई बालिका शारीरिक तथा मानसिक पीडामा छन् । उनीहरू घरबाट निस्कने अवस्थामा नरहेको परिवारको भनाइ छ । ‘शारीरिक तथा मानसिक रूपमा पीडा कति छ भन्ने शब्दले बताउन सक्ने अवस्था छैन,’ पीडितकी आफन्त कलावतीले भनिन् । उनका अनुसार ती बालिकालाई घरमै राखेर अस्पताल लग्दै औषधोपचार भइरहेको छ ।

सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ । फरार एक जनाको खोजी भइरहेको छ । ८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×