कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आपराधिक घटनाले गाउँलेमा त्रास

गणेश चौधरी

टीकापुर — लगातारको आपराधिक घटनाले कैलालीको जानकी गाउँपालिकामा रहेको अमौरी गाउँ त्रसित बनेको छ ।दसैंको अष्टमीका दिन भएको सामूहिक बलात्कारको घटना र दसैंलगत्तै एक युवकको हत्याले गाउँ त्रसित बनेको हो ।

‘लगातारको दुई बेग्लाबेग्लै घटनाले गाउँमा कसरी सुरक्षित बस्ने भन्ने समस्या लाग्न थालेको छ,’ स्थानीय जयप्रकाश दहित थारूले भने, ‘केही वर्षअघिसम्म गाउँमा सामान्य झैझगडा भए पनि यस्ता गम्भीर आपराधिक घटना भएको थाहा पाइएन । अहिलेको दुइटा लगातारका घटनाले त हाम्रो पुरानो बस्ती कति असुरक्षित रहेछ भन्ने महसुस हुन थालेको छ ।’

जानकी गाउँपालिका–५ अमौरी गाउँमा दसैंको अष्टमीका दिन नाचगान हेर्न गएका गाउँकै दुई बालिकामाथि नौ जनाको समूहले सामूहिक बलात्कार गरेको थियो । त्यसको केही दिनमै एक जना युवकको कुटपिटबाट मृत्यु भएको घटनाले गाउँको शान्त माहोल खलबलिन पुगेको स्थानीय बताउँछन् । बलात्कारमा संलग्न नौ जनामध्ये आठ जना घटनाकै दिन पक्राउ परेका हुन् । एक जना भने हालसम्म फरार छन् । प्रहरीका अनुसार कुटपिट गरी हत्या गरेको घटनाका तीन जना अभियुक्त पनि पक्राउ परिसकेका छन् ।

अहिलेको घटनाले सबै गाउँलेलाई झस्काएको जयप्रकाशले सुनाए । उनले भने, ‘लम्की बजारनजिकै भएकाले यो गाउँमा रेस्टुरेन्ट र पसल पनि सञ्चालन भएका छन् । चहलपहल पनि बढेको थियो । सबैलाई सुरक्षित भएको लाग्थ्यो । तर त्यस्तो रहेनछ ।’ कामविशेषले कतै गए पनि साँझ चाँडै घर फर्कनुपर्ने बाध्यता रहेको उनले बताए ।

गाउँ अशान्त बनेपछि स्थानीयलाई सुरक्षित रहन जानकारी गराइएको गाउँका अगुवा बडघर मनिराम चौधरीले बताए । ‘अत्यावश्यक काममा बाहेक राति ननिस्कन सबैलाई खबर गरेका छौं,’ उनले भने, ‘तिहार नजिकिँदै छ, बाजागाजा बजाउने काम पूर्ण रूपमा बन्द गर्न भनेका छौं ।’ उनका अनुसार अहिलेको नयाँ पुस्ता नशालु पदार्थ सेवन गर्ने अनि जथाभावी झैझगडा गर्ने गर्नाले हिँडडुल गर्नै अप्ठ्यारो स्थिति आएको हो ।

अमौरी गाउँमा करिब दुई सय घरपरिवारको बसोबास छ । अधिकांश थारू जातिको बसोबास रहेको यो गाउँ लम्की बजारबाट तीन किलोमिटर र टीकापुरबाट करिब ११ किलोमिटर दूरीमा छ । यहाँ लसुन कटेज सञ्चालन गरिरहेका राजकुमार चौधरीले दसैंका बेलाको घटनाका कारण व्यापार व्यवसायमा असर परेको सुनाए । ‘साँझ निकै चहलपहल हुन्थ्यो,’ उनले भने, ‘पूरै गाउँ आजभोलि सम्साँझै सुनसान हुने गरेको छ ।’

अमौरीमा आपराधिक घटना भएपछि प्रहरी परिचालन पनि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित : कार्तिक १८, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?