२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘घुमफिर’ गर्दै कोरोना संक्रमित

संक्रमितले आफन्तलाई स्वास्थ्य सतर्कता नअपनाएरै सहजै भेट्ने गरेका छन् । परिवारसँग पनि घुलमिल हुने भएकाले संक्रमण फैलिन सक्ने खतरा बढेको छ ।

कपिलवस्तु, बाँके, रुपन्देही — कपिलवस्तुको एक स्थानीय तहका प्रमुख कोरोना संक्रमित छन् । उनी गत शुक्रबार बिहान सदरमुकाम तौलिहवाको भिक्षु चोकमा चिया पिउँदै सर्वसाधारणसँग गफिँदै थिए । उनी संक्रमित भएको जानकारी पाएका केही व्यक्ति अलि पर बसेर उनको गतिविधि नियालिरहेका थिए । उनी सार्वजनिक ठाउँमा चियापान मात्र होइन, आफैं गाडी चलाएर बजार घुमघाम गरिरहेका भेटिन्छन् ।

‘घुमफिर’ गर्दै कोरोना संक्रमित

लामो समयदेखि कोरोना हटस्पट रहेको जिल्लामा यसरी लापरबाही गर्ने थुप्रै छन् । कपिलवस्तु नगरपालिकाका संक्रमित एक कर्मचारी पनि बजार घुमघाम गरिरहेका भेटिन्छन् । जिम्मेवार जनप्रतिनिधि नै संक्रमणका बेला खुलेआम हिँडडुल गर्ने र चोक चौराहमा बसेर चिया पिउने काम गर्दा यहाँ त्रास बढेको छ । सर्वसाधारणले उनलाई भन्न सकिरहेका छैनन् । ‘उनी आफैं बुझ्ने मान्छे हुन्,’ एक वडाध्यक्षले भने, ‘नियमनकारी निकायको नेतृत्व गर्नेले नै नियम उल्लंघन गर्दा सर्वसाधारणले के गर्ने ?’

कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका संक्रमितहरूले बजारमा किनमेल गर्न जाने, बिहानबेलुका ‘वाक’ गर्ने र मन्दिर गएर दर्शन गर्ने गरिरहेका छन् । संक्रमितका यस्ता क्रियाकलापले परिवारका सदस्यलाई मात्र नभई समाजलाई संक्रमण फैलन सक्ने भन्दै स्थानीय चिन्तित छन् । यहाँ स्थानीय तहले आइसोलेसन सेन्टर नबनाएकाले संक्रमितहरू घरमै बस्न बाध्य छन् । होम आइसोलेसनमा बसेका संक्रमितहरू खुलेआम हिँडिरहेकाले संक्रमणको दर बढ्ने निश्चित भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । ‘नागरिक जिम्मेवार र सचेत नभइन्जेलसम्म कोरोना नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘संक्रमित व्यक्ति निको नहुन्जेलसम्म भीडभाडमा जाने क्रियाकलाप बन्द गरिनुपर्छ ।’

मापदण्डको खिल्ली

रूपन्देहीमा मास्क प्रयोग गर्ने भेटिन छाडेका छन् । संक्रमण भएका व्यक्ति होम आइसोलेसनमा बसे पनि परिवारका सदस्यसित घुलमिल गरिरहेका पाइन्छन् । राजनीतिक दलले पार्टी संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिएपछि जोखिम झन् बढेको सम्मरीमाई–५ का निरञ्जन पाठकले बताए । ‘कोरोना जाँच्ने र स्वास्थ्य मापदण्ड पालना गर्ने परिपाटी हराइसक्यो,’ उनले भने, ‘लापरबाहीले हद नाघिसक्यो ।’

जनप्रतिनिधिले बेवास्ता गरेकाले सर्वसाधारण बिनामास्क हिँड्ने गरेको उनले बताए । यहाँका गाउँपालिका, बजार, पसलदेखि सार्वजनिक स्थलमा अहिले भीडभाड बढेको छ । संक्रमण छ/छैन वास्ता गर्न छाडिएको रोहिणी–३ का चन्द्रिका केवटले बताए । ‘पूजाआजादेखि भीडभाड हुने कार्यक्रमसमेत आयोजना भइरहेका छन्,’ उनले भने, ‘कसैमा पनि रोगको डर नभएको जस्तो देखिन्छ ।’ आफूले देखे, भेटेका मानिसलाई मास्क प्रयोग गर्नेबारे चेतना दिन खोजे उल्टै जवाफ फर्काउने गरेको उनले बताए ।

सीमावर्ती बासिन्दा भारतीय बजारमा आउजाउ गरिरहेकाले मास्कको प्रयोग छोडेको मर्चवारी गाउँपालिका प्रमुख केशवनन्द बानियाँले बताए । ‘माइकिङ गरी सूचना प्रवाह गरिरहे पनि बेवास्ता गरिरहेका छन्,’ उनले भने । सरकारले पेसा, व्यवसाय र उद्योग सञ्चालन खुला गरिदिएको र स्वास्थ्य मापदण्ड अपनाउन सूचना जारी गरेकाले हरेक व्यक्तिले ध्यान दिनुपर्ने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । ‘प्रशासनले अनुगमन गर्ने, कडाइ गर्नेभन्दा पनि आफ्ना लागि आफैं सुरक्षित हुने बेला हो यो,’ उनले भने ।

प्रशासनले सरकारी कार्यालयमा अनिवार्य स्वास्थ्य मापदण्ड पालनाको निर्देशन दिएको, विभिन्न संस्था, स्थानीय स्तरमा समेत अनुगमन गरिरहेको घिमिरेको भनाइ छ । जनस्तरबाटै कोरोनालाई बेवास्ता गरी संक्रमण फैलाउने काम भइरहेको भीम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले बताए ।

निगरानी नहुँदा लापरबाही

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका व्यक्तिको अनुगमन गर्ने जिम्मा सम्बन्धित पालिकाको स्वास्थ्य शाखालाई दिइएको छ तर होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि नेपालगन्जमा अनुगमन सम्भव हुन सकेको छैन । त्यसैले होम आइसोलेसनमा लापरबाही बढेको छ । संक्रमितले आफन्तलाई स्वास्थ्य सतर्कता नअपनाएरै सहजै भेट्ने गरेका छन् । परिवारसँग पनि घुलमिल हुने भएकाले संक्रमण फैलिन सक्ने खतरा बढेको छ । यसअघि होम आइसोलेसनमा बसेका व्यक्तिको परिवारका सदस्यमा पनि संक्रमण फैलिएका थुप्रै घटना सार्वजनिक भएका छन् ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य मन्त्रालयले पालिकाको सम्बन्धित वडाको वडाध्यक्षको अध्यक्षतामा वडास्तरीय अनुगमन समितिसमेत गठन गर्ने निर्देशिका जारी गरेको छ । उक्त अनुगमन समितिले पनि प्रभावकारी अनुगमन गर्न सकेको छैन । समितिमा वडास्तरीय स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, स्थानीय प्रहरी र वडा सदस्यलाई सदस्यमा राखिने व्यवस्था छ ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडाध्यक्षको मातहतबाटै अनुगमन भइरहेको जनाए तर यस्तो संख्या बढिरहेकाले सबैको अनुगमन गर्न समस्या हुन सक्ने उनले जनाए । ‘अनुगमन गर्ने प्रयास भने भइरहेको छ,’ उनले भने । लक्षणसहित संक्रमण पुष्टि भएका संक्रमितलाई भने भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पतालको कोभिड वार्डमा उपचार व्यवस्था मिलाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले होम आइसोलेसनमा बस्ने व्यक्तिको अनुगमन स्थानीय स्वास्थ्य शाखाबाटै भइरहेको जनाए ।

प्रकाशित : कार्तिक १८, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?