१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरीद्वारा बालिका बलात्कारपछि हत्या प्रयास, अभियुक्त चौकीबाटै फरार

मोहन शाही

डोटी — १५ वर्षीया बालिकालाई एक प्रहरी जवानले बलात्कार गरी हत्याको समेत प्रयास गरेको भन्दै उजुरी परेको छ ।

जोरायल गाउँपालिकाकी बालिकालाई गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशिल सिंहले बलात्कारपछि हत्याको प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा सोमबार उजुरी दर्ता गरेका छन् ।

कात्तिक १३ को राति ११ बजेतिर छोरी घरकै कोठामा सुतिरहेको अवस्थामा बलात्कार गरी कोदोबारीमा मरेको भन्दै फालेको बालिकाका बुबाले बताए । घरदेखि घिसार्दै कोदोबारीमा लगेर फालेको अवस्थामा राति ३ बजेतिर छोरीलाई भेटेको उनको भनाइ छ । ‘राति कोही चिच्चाएको आवाज आयो,’ पीडित बालिकाका बुवाले भने, ‘को रहेछ भनेर गएको त छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरीसकी भनेर फालेको रहेछ ।’ घटनाको तीन दिनपछि मात्रै धनगढीस्थित प्रादेशिक अस्पतालमा बालिकाको चेत खुलेको थियो ।

घटना भएको ५ दिनपछि पीडित बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय डोटीमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेका छन् । अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेपनि होस आएको थिएन ।

बालिकाको घाटीमा गहिरो कालो निलडाम छ । खुट्टा र शरीरमा निलडाम रहेको बालिकाका बुवाले बताए । उनी बेला बेला बरबराउँछिन् । मानसिक रुपमा विक्षिप्त रहेकी छन् ।

घटनाबारे प्रहरी चौकीलाई समयमै पीडितका आफन्तले जानकारी गराउँदा पनि मुद्दा दर्ता गर्दासम्म अभियुक्त प्रहरी चौकीबाटै फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले पीडित बालिकाका आफन्तले उजुरी दर्ता गर्न आएपछि प्रहरी चौकीको सम्पर्कमा नरहेको फोनमा बताए ।

पीडितका आफन्तले प्रहरीको मिलेमतोमा अभियुक्तलाई विभिन्न बहाना गरेर घटनालाई कम्जोर बनाउने चलखेल भइरहेको आरोप लगाएका छन् ।

प्रहरीकहाँ घटना भएको दोस्रो दिनमै उजुरीका लागि गएपनि दर्ता नगरेको उनका बुवाले बताए । गड्सेरा प्रहरी चौकीका इन्चार्ज चन्द्र सिं भण्डारीले उपचार पछि गाउ आउन र घटनाबारे आपसी सहमती गर्न भनेको वुवाले बताए ।

‘दोस्रो दिन अस्थायी प्रहरी चौकी गड्सेरा गयौं त्यहाँ पहिले बालिकाको ज्यान बचाऔं त्यसपछि कानुनी प्रक्रिया अघि बढाउला भनेर गाउँले र प्रहरीले भने’, पीडितका बुवाले गुनासो राखे,‘जोरायल प्रहरी चौकी जाँदा पनि उजुरी दर्ता भएन छोरीको अवस्था नाजुक भएकाले बेहोस अवस्थामै उपचारका लागि धनगढी लाग्यौं । आइतबार होस आएपछि सोझै डोटी जिप्रका आएर उजुरी दर्ता गर्‍‍यौं।’ प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गर्न खोजेपनि ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको पीडित बालिकाका आफन्तले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी पाण्डेयले उजुरीको ब्यहोरा नमिलेकाले मात्र निवेदन सच्याएर ल्याउन पीडितका आफन्तलाई प्रहरीले सम्झाएको बताए । उनले ब्यहोरा मिलेर आउने बित्तिकै दर्ता गरिएको बताए ।

प्रकाशित : कार्तिक १७, २०७७ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?