कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१३ वर्षीया बालिकालाई पटकपटक बलात्कार, २ पक्राउ

जितेन्द्र साह

विराटनगर — हजुरबुबाआमाको संरक्षणमा बस्दै आएकी मोरङको बेलबारीकी एक १३ वर्षीया बालिकासँग पटकपटक बलात्कार भएको अनुसन्धानको क्रममा खुलेको छ ।

१३ वर्षीया बालिकालाई पटकपटक बलात्कार, २ पक्राउ

प्रहरीले मनोपरामर्श एवं देखभालका लागि ती बालिकालाई विराटनगरस्थित एक गैर सरकारी संस्थाको जिम्मा लगाएको छ ।

साढे तीन महिनाको अवधिमा दोस्रो पटक ती बालिकासँग बलात्कार भएको मोरंगका प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनको अनुसार पीडित पक्षको जाहेरी पछिको अनुसन्धानबाट नातेदार एवं गाउँलेले ती बालिकासँग यो अपराध गरेको खुलासा भएको छ ।

‘बालिकाको कमजोर घरायसी अवस्था र जड्याहा हजुरबुबाको कमजोर आचरणले बालिका पटकपटक पीडित हुँदै आएको देखियो,’एसपी खड्काले कान्तिपुरसँग भने ।

उनको अनुसार १३ कात्तिकको साँझ ती बालिकालाई बलात्कार गर्ने मोरंगको बेलबारी–३ का २६ वर्षीय सुमन तामाङ र मदिरा किन्नलाई चाहिने रकमका लागि ती बालिकालाई तामाङलाई सुम्पने हजुरबुबालाई पक्राउ गरिएको हो । तामाङ बालिकाको गाउँले हुन् । ‘तामाङले पहिलेदेखि ति बालिकामाथि आँखा गाडेका थिए,’खड्काले भने,‘रक्सीको लत लागेका हजुरबुबालाई उनले पैसाको प्रलोभनमा पारेर ति बालिकालाई लिएर गए ।’

काठमाडौ रहेकी आमाले छोरीलाई विश्वासकासाथ बेलबारीस्थित हजुरबुबाआमाको निगरानीमा राखेको प्रहरीले जनाएको छ । रक्सी खानलाई रकम लिएका हजुरबुबाले ‘मेरो नातिनीलाई लगेर बिहे गर’ भन्दै तामाङको जिम्मा लगाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार घटनाको दिन पनि पैसा लिए पछि बालिकाको हजुरबुबाले मस्त रक्सी सेवन गरेका थिए । प्रहरीका अनुसार दिनभर यताउता घुमफिर गराएपछि साँझपख तामाङले बालिकासँग बलात्कार गरेका थिए ।

पीडित बालिकाले आफूसँग भएको घटनाको बारेमा अर्को छुट्टै घरमा बस्ने माइजुलाई बताए पछि बलात्कारको खुलासा भएर उजुरी परेको प्रहरीले भनेको छ । ‘बालिकाको माइजु पढेलेखेको र यस्तो घटनालाई ढाकछोप गर्नुहुन्न भन्ने आँटिलो स्वभावकी भएकी हुनाले पीडितको तर्फबाट प्रहरीमा उपस्थित भएर जाहेरी दिइन्,’एसपी खड्काले भने ।

घटनालगतै फरार तामांङलाई १४ कात्तिकमा पुरानो बेलबारी बजारबाट प्रहरीले पक्राउ गरेको हो । बालिकाको घर र मावलीको आर्थिक अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । एसपी खड्काको अनुसार यस अघि २ साउनमा नातामा फूपा पर्ने प्रदीप राईले कोही नभएको मौकामा घरमा बोलाइ ती बालिकासँग बलात्कार गरेका थिए ।

उक्त घटनामा पक्राउ परेका राई पूर्पक्षकालागि थुनामा रहेको उनले बताए । ‘श्रीमती नभएको बेला घर रेखदेख गर्न भनेर बोलाइ ती बालिकालाई राईले बलात्कार गरेका थिए,’एसपी खड्काले भने,‘त्यति बेला पनि जड्याहा हजुरबुबाले नै फूपाको घरमा कोही छैन भन्दै हेरचाह गर्नु भन्दै पठाएका थिए ।’

बालिकाको घर र मावलीको कमजोर आर्थिक एवं पारिवारिक पृष्ठभूमिको फाइदा उठाउँदै राई र तामाङले बलात्कार जस्तो जघन्य अपराध गरेको प्रहरीको ठम्याइ छ । ‘नातिनीलाई जतिखेर, जसले र जुन कामका लागि बोलाए पनि २४ घण्टा जाँडले मातिरहेका हजुरबुबाले पठाइ हाल्थे,’एसपी खड्काले भने,‘नैतिक रुपले भ्रष्ट हजुरबुबा बालिकाको संरक्षक भन्दा पनि भक्षक सावित भए ।’

अपांगसँग पनि बलात्कार

मोरंगको ग्रामथान गाउँपालिकाकी १९ वर्षीया अपांगलाई बलात्कार गर्ने निर्माण मिस्त्री ४० वर्षीय जुमेश सरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत बिहीबार बेलुका ती किशोरी घरमा एक्लै भएको बेला ग्रामथान–१ का सरदारले बलात्कार गरेका हुन् । गाउँलेले थाहा पाएर हल्ला गरे पछि उनी पक्राउ परेको एसपी खड्काले बताए ।

पीडितको बुबा रोजगारको क्रममा विदेशमा छन् । घटनाको बेला आमा दाल पिसाउनलाई मिल गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?