कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बस्ती नै लालपुर्जाविहीन

५० को दशकपछि खल्लामा बस्ती विस्तार तीव्र रुपमा भयो । त्यसपछि वनका कर्मचारीहरु आएर छाप्रो जलाउने र खेतीपातीमा गाईभैंसी चराउने गर्न थाले । यहाँका बासिन्दा दिनमा भाग्थे भने राति मात्रै टहरा बनाएर बस्थे । पछिल्लो समय यहाँ बाटोघाटो, विद्यालय र विद्युत् सेवा विस्तार भएको छ । तर बस्तीवासी भने सुकुम्बासीसरह छन् ।
भवानी भट्ट

कञ्‍चनपुर — दार्चुलाको गोकुलेश्वरबाट २०४२ मा तराई झरेका उनी साथीहरूसँगै तीर्थ यात्रीका रूपमा खल्ला आइपुगेका थिए । छेवैको सिद्धबाबाको मन्दिरको दर्शनपश्चात् ठाउँ राम्रो देखेपछि हरिदत्त जोशी यहीँ बस्न थाले । कहीँ कतै मात्र रुख भएको उक्त क्षेत्रमा ढुंगामुडा पन्छाएर खेतीपाती गरे । भीमदत्त नगरपालिका–९ मा पर्ने चुरे फेदीको यो बस्ती त्यसपछि मात्रै विस्तार भएको हो ।

बस्ती नै लालपुर्जाविहीन

जोशीलगायत स्थानीय यहाँ बसेको साढे तीन दशक बितिसकेको छ । ‘हामी आउँदा यहाँ जंगल मात्रै थियो, बीचको खाली ठाउँमा ढुंगाहरू थिए,’ ८४ वर्षीय जोशीले भने, ‘तिनै ढुंगा पन्छाएर हामीले खनजोत गरेका हौं ।’ वनमा खनजोत गरेको भन्दै जोशीलाई पटकपटक वन प्रशासनले पक्राउ पनि गर्‍यो ।

वन मुद्दा लगाएर जेल पनि हालियो । तर अन्त जाने र बस्ने आधार नभएका कारण जेल परे पनि उनले यो ठाउँ छाडेनन् । जोशी पाँच पटक गरी पाँच वर्षभन्दा बढी जेल बसेका छन् । तर हालसम्म आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । जग्गाधनी पुर्जा पाएर मर्न पाए हुन्थ्यो भन्ने उनको मनमा लागिरहन्छ । यही विषयमा सोधीखोजी गर्न उनी लौरी टेकेर गाउँ चहार्दै हिँड्छन् ।

गोकुलेश्वरमा उनको घर नजिकै सुक्खा पहिरो जाने समस्या थियो । पहिरोले भिरालो पाखाहरू सबै भत्काइसकेको थियो । घर पनि कति बेला लैजान्छ भन्ने चिन्ता थियो । त्यही भएर तीर्थयात्रीका रूपमा आएका उनी यहीँ बसे । खल्ला जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । सामान्य किनमेलदेखि स्वास्थ्य उपचारसम्मका लागि यहाँका बासिन्दाले महेन्द्रनगर वा सीमावर्ती टनकपुर धाउनुपर्छ । बर्खाका बेला चुरेबाट बग्ने खहरे खोलाका कारण यहाँ आउजाउ ठप्प हुन्छ ।

५० को दशकपछि खल्लामा बस्ती विस्तार तीव्र रूपमा भयो । त्यसपछि वनका कर्मचारीहरू आएर छाप्रो जलाउने र खेतीपातीमा गाईभैंसी चराउने गर्न थाले । यहाँका बासिन्दा दिनमा भाग्थे भने राति मात्रै टहरा बनाएर बस्थे । यस्तो ८/१० वर्ष चल्यो । ‘धान गहुँ पाक्ने बेला वनपाले आउँथे, छाप्रोमा आगो लगाइदिन्थे, खेतमा गाईभैंसी पसाएर बाली सखाप पार्थे,’ जोशी भन्छन्, ‘जब यहाँ माओवादी आउन थाले त्यसपछि भने बस्न सहज भयो ।’ २०५७ मा उनीसहित पाँच जनालाई जिल्ला वन कार्यालयबाट आएको टोलीले पक्राउ गरेपछि एक वर्ष जेल बसे । त्यसपछि पनि पटकपटक जेल बसेको उनी बताउँछन् ।

खुल्ला क्षेत्रमा तीन बस्ती छन् । खल्ला, टुँडीखेल र मसेट्टी । ती बस्तीमा तीन सयभन्दा बढी परिवारको बसोबास छ । पछिल्लो समय यहाँ बाटोघाटो, विद्यालय र विद्युत् सेवा विस्तार भएको छ । यहाँका बासिन्दा भने अहिले पनि सुकुम्बासीसरह छन् । निर्वाचनका बेला सबैले जग्गाधनी पुर्जा दिने आश्वासन दिए पनि चुनाव जितेपछि फर्केर नआएको जोशीलगायत स्थानीयको गुनासो छ । ‘हामीलाई जहिल्यै भोट बैंकका रूपमा मात्रै प्रयोग गरियो,’ जोशी भन्छन्, ‘जितेपछि कोही आउँदैन ।’ खल्ला क्षेत्रको जग्गा दर्ता नहुने भए अन्यत्रै बसाइदिनसमेत उनीहरूले आग्रह गरेका छन् । पछिल्लो पटक तीन वटै तहका निर्वाचनमा यस क्षेत्रका बासिन्दालाई जग्गाधनी बनाउने सबै दलका उम्मेदवारको चुनावी एजेन्डा थियो । हालसम्म पनि यसतर्फ कुनै प्रगति भएको छैन । यसअघिका निर्वाचनमा पनि उम्मेदवारले यस्तै सपना बाँडेको स्थानीय बताउँछन् ।

२०४२ मा खल्लामा जोशीसँगै रामदत्त कलौनी र एक जना माता आएर बसेका हुन् । कलौनी वन मुद्दा लड्दालड्दै बिते । महाकाली नदी किनारमा रहेको यो ठाउँ प्राचीन ब्रह्मदेव मण्डीसँगै किसान नेता सहिद भीमदत्त पन्तको कर्मथलोका रूपमा पनि चिनिन्छ । नदी किनारमै बस्ती भएकाले महाकालीको बाढीले पनि बर्सेनि जमिन कटान र डुबान गर्दै आएको छ । २०७० मा आएको बाढीले नदी किनारका २५ परिवार विस्थापित भएका थिए । उनीहरू अहिले सिद्धबाबाको मन्दिर क्षेत्रमा बस्छन् । ‘यो ठाउँमा नापी नहुने र जग्गाधनी पुर्जा नपाइने भए हामीलाई अन्तै बसाइ दिनुपर्‍यो,’ रामदत्त कलौनीका छोरा देवेन्द्रले भने, ‘जग्गा प्राप्तिका लागि हामी सर्वोच्चसम्म पुगिसक्यौं, मुद्दा विचाराधीन छ ।’ सर्वोच्चमा मुद्दा परेपछि वनका कर्मचारी पनि आउन छाडेको उनले बताए । खल्लामा बस्ती विस्तार हुन थालेपछि ब्रह्मदेववासीले समेत विरोध गरेको स्थानीय बताउँछन् । उनीहरूले वनपालेसँगै आएर घर टहरा जलाउनेदेखि खेतीपातीमा गाईगोरु चराएर दुःख दिएको खल्लावासी बताउँछन् । ‘हाम्रो पानीघाट र गौचर हो भनेर छाप्रा जलाइदिन्थे,’ देवेन्द्र भन्छन्, ‘हामीलाई वनका कर्मचारीले मात्रै होइन ब्रह्मदेवका स्थानीयले समेत दुःख दिए ।’ उनका अनुसार ब्रह्मदेवका स्थानीयले टहरामा आगो लगाउँदा एक बालिका घाइते भइन् ।

खुट्टा जलेकी ती बालिका अहिले पनि राम्ररी हिँड्न सक्दिनन् । पछिल्लो समय खल्लामा विद्युत् लाइन विस्तार हुँदै छ । तर वनले रुख काट्न नदिएर विद्युत् विस्तारमा समस्या भएको छ । ‘रुखका हाँगा काट्दा पनि सामुदायिक वनका पदाधिकारीसँगै वनका कर्मचारीहरू आइहाल्छन्,’ बैतडीको डिलासैनीबाट आएर खल्लामा बसोबास गरिरहेका पदमसिंह कार्कीले भने, ‘विद्युत् लाइन तानेर पनि बीचमा रुख काट्न नसक्दा करेन्ट छाडेको छैन ।’

पछिल्लो पटक यहाँका स्थानीयले प्रतिकट्ठा ५० रुपैयाँका दरले नगरपालिकालाई कर पनि बुझाइरहेका छन् । विद्युत् मिटर जडानका लागि उक्त कर निर्धारण गरिएको कार्कीले बताए । खल्ला, टुँडीखेल र मसेट्टीमा चुरेबाट बग्ने आधा दर्जन खोलानालाहरू पर्छन् । बर्खामा यी खोलानाला बस्तीमै पस्ने गर्छन् । बर्सेनि कटानसँगै डुबानको समस्या झेल्नुपर्ने स्थानीय बताउँछन् ।

प्रकाशित : कार्तिक १६, २०७७ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?