‘नियन्त्रणमा लिइएको चामल खाद्य कम्पनीकै’

६ जनासँग बयान, मालिकलाई उन्मुक्ति
कलेन्द्र सेजुवाल

सुर्खेत — भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको खुलेको छ ।

‘नियन्त्रणमा लिइएको चामल खाद्य कम्पनीकै’

जिल्ला प्रहरी कार्यालयले पठाएको चामलको नमूना परीक्षण गरेपछि कम्पनीको सुर्खेतस्थित कार्यालयले उक्त जानकारी दिएको हो ।

‘प्रहरीले नियन्त्रणमा लिएको चामलको नमुना हामी (कम्पनी) सँग रहेको जापानी चामलसँग मिलेको छ,’ कार्यालय प्रमुख माधव मिश्रले कान्तिपुरसँग भने, ‘प्रारम्भिक रुपमा हामीले प्रहरीलाई यही रिपोर्ट दिने छौं ।’ सरकारी अनुदानको जापानी चामल बजारमा नपाइने उनले बताए ।

बिहीबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित दुर्गा भगवती इन्टरप्राइजेजको नाममा भक्तपुर पठाउन लागिएको २ सय ५० क्विन्टल चामल सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । इन्टरप्राइजेजका प्रोप्राइटर रहेका वासुदेव शर्मा अर्को व्यावसायिक फर्म शर्मा निर्माण सेवाका समेत मालिक हुन् ।

शर्मा निर्माण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानीकर्ता हो । उनले शर्मा निर्माणको नाममा मुगुको कालै बिक्री केन्द्रमा पठाउने भनेर कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट चामल उठाएका थिए ।

तर उक्त चामल मुगु पठाउनुको साटो भक्तपुर पठाउन लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘हामीसँग भएका प्रमाणले चामल भक्तपुर लग्न लागिएको भन्ने स्पष्ट भएको छ,’ जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले भने, ‘चामलको परीक्षण रिपोर्ट प्राप्त भएपछि मुद्दा प्रक्रिया अघि बढाउने छौं ।’

प्रहरीले इन्टरप्राइजेजका ६ जना कर्मचारीसँग बयान लिए पनि मालिक शर्मालाई भने बयानको लागि कार्यालयमा बोलाएको छैन । एसपी भट्टले इन्टरप्राइजेजका म्यानेजरमार्फत बोलाइएको भए पनि उनी कार्यालयमा नआएको बताए ।

प्रहरीबाट यही उन्मुक्ति पाउँदा शर्मालाई प्रमाण कमजोर बनाउन र प्रहरी–प्रशासन तथा खाद्य कम्पनीलाई प्रभावित गर्न सहज भएको सरोकारवालाको भनाइ छ । ‘सरकारी अनुदानको चामल बेच्ने घटनामा मुछिएका व्यापारीलाई पक्राउ गर्नु त टाढाको कुरा अहिलेसम्म बयान पनि नलिँदा आश्चर्य लागेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले भने, ‘यसले गर्दा उनले बाहिर अनेक चलखेल गर्ने मौका पाउँछन्, आफू अनुकूल कागज मिलाउने मौका पनि पाउँछन् ।’

शर्माले बिक्री केन्द्रको लागि कम्पनीको गोदामबाट असोज २६ गतेसम्म १ हजार क्विन्टल र कात्तिक ५ गते १ सय क्विन्टल चामल उठाएका थिए । उक्त चामलमध्ये २ सय ५० क्विन्टल भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको छ भने करिब २ सय क्विन्टल शर्मा निर्माण सेवाको वीरेन्द्रनगरस्थित गोदाममा रहेको छ । बाँकी चामल कहाँ छ भन्नेबारे अनुसन्धानबाट थाहा हुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

शर्मा निर्माण सेवाले असोज १६ गते कम्पनीसँग गरेको सम्झौतामा भने १५ दिनभित्र तोकिएको स्थानमा चामल पुर्‍याइसक्ने उल्लेख छ । चामल छोड्न र मुद्दा कमजोर बनाउन विभिन्न ठाउँबाट दवाव आए पनि प्रहरी–प्रशासन प्रभावित नहुने उनले बताए ।

उनका अनुसार प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिताको ठगी महल वा कालोबजारी तथा केही अन्य सामाजिक तथा सजाय ऐनअन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान अघि बढाएको छ ।

यो पनि पढ्नुहोस् :

अनुदानको चामल अन्तै बेचिँदै

प्रकाशित : कार्तिक १५, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?