२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

माधव नेपाल : कहिले केन्द्रमा, कहिले किनारामा !

बबिता शर्मा

काठमाडौँ — भेटघाट १ : कात्तिक ४ मा ओली–नेपाल छलफल

गत मंगलबार अर्थात् कात्तिक ४ मा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा लामो छलफल भयो ।

माधव नेपाल : कहिले केन्द्रमा, कहिले किनारामा !

कर्णाली विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग तीव्र मतभेद भएकै बेला प्रधानमन्त्री ओलीले नेता नेपाललाई बोलाएर छलफल गरेका थिए । स्थायी कमिटीका निर्णय कार्यान्वयनमा ढिलाई भइरहँदा भएको भेटमा प्रधानमन्त्री ओलीले नेता नेपालसँग सहकार्यको प्रस्ताव अगाडि सारेका थिए । भेटमा नेता नेपालले सहकार्यका लागि कार्यशैली सच्चाउन र पार्टीलाई विधि–पद्धति चलाउनुपर्ने शर्त अगाडि सारेका थिए ।

ओली–नेपालबीच तीन महिनापछि प्रधानमन्त्री निवास बालुवाटारमा अढाई घन्टा लामो छलफल भएको थियो । स्थायी कमिटी बैठकअघि आमुन्नेसामुन्ने भएका ओली–नेपालबीच साउन ९ पछि औपचारिक संवाद हुन सकेको थिएन । नेता नेपालकै भनाईमा ओलीसँग भेट भए पनि आशंका भने मेटिएका छैनन् ।

भेटघाट २ : स्वयम्भूमा दाहाल–नेपाल छलफल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भेटेको अर्को दिन अर्थात् कात्तिक ५ मा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच लामै कुराकानी भयो । स्वयम्भूस्थित एक निजी घरमा भएको भेटमा अध्यक्ष दाहाल र नेता नेपाल निकट स्थायी कमिटीका अन्य केही नेता पनि सहभागी थिए ।

स्रोतकाअनुसार छलफल स्थायी कमिटीका निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले तत्परता नदेखाएको निष्कर्षसहित नेताहरु आपसी विश्वास र थप रणनीति निर्माणका लागि संवादमा बसेका थिए । कर्णाली प्रदेशको विवादमा सुरुमा ओली–नेपाल समूह एकै ठाउँ देखिए पनि अन्तिममा दाहाल–नेपाल समूह मिलेपछि मुख्यमन्त्री हटाउने ओली समूहको रणनीति असफल भएको थियो ।

दाहाल–नेपाल समूहका नेताहरुबीच संवाद भएकै दिन अचानक भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए । त्यसैले त्यसदिनको भेटमा ‘रअ’ प्रमुखको आकस्मिक नेपाल भ्रमण, प्रधानमन्त्री र ‘रअ’का प्रमुखबीचको भेट तथा सम्भावित राजनीतिक परिदृश्यबारे दाहाल–नेपाल समूहका नेताहरुले मन्थन गरेका थिए । त्यसयता दाहाल–नेपाल नियमित संवादमा छन् ।

भेटघाट ३ : बालुवाटारमै ओली–नेपाल छलफल

४ कात्तिकमा नेपालसँग भेरेका ओलीले त्यसको एक सातामै नेपालसँग भेट गरे । कात्तिक ११ गते दिउँसो प्रधानमन्त्री ओलीले बालुवाटारमै नेता नेपालसँग झण्डै तीन घण्टा वार्ता गरे । पार्टीका अर्का अध्यक्ष दाहालसँग भेटघाट र संवाद रोकिएकै बेला प्रधानमन्त्री ओलीले नेता नेपालसँग विश्वासको वातावरण बनाउने र पार्टीका आन्तरिक मुद्दामा सहकार्यको बाटो खोल्ने कोसिस गरेका थिए ।

नेपाल पक्षका नेताहरुले भेटमा प्रधानमन्त्री ओलीबाट सहकार्यका लागि कुनै ठोस प्रस्ताव नआएको बरु अर्का अध्यक्ष दाहाललाई तर्साउन भेट गरेको आशंका गर्छन् । दाहालसँग कटुता बढ्दा ओलीले नेपालसँग भेट गर्छन् । साउन ९ मा पनि ओलीले नेकपा विवाद उचाईमा पुगेको बेला राति गोप्य रुपमा नेता नेपालसँग भेट गरेका थिए । सरकारको कामलाई लिएर नेता नेपालको प्रधानमन्त्री ओलीसँग धेरै असन्तुष्टि छ । सरकारको कामका कारण पार्टीको छवि धुमिल भएको नेता नेपालको भनाई रहँदै आएको छ । नेता नेपालले दाहालको ढुलमुले नीतिप्रति पनि असन्तुष्टि राख्ने गरेका छन् ।

......

नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच अविश्वास बढेको बेला भएका यी भेटले वरिष्ठ नेता नेपालको महत्व र भूमिकालाई फेरि बढाइदिएको छ । नेकपाको पछिल्लो विवाद कहाँ र कसरी टुंगिन्छ भन्ने पूर्वानुमान गर्न कठिन भए पनि विवाद समाधानमा फेरि एकपटक नेता नेपालको ‘पोजिसन’ अर्थपूर्ण हुने अवस्था देखिएको छ । तर, निकट नेताहरु ओली र दाहाल दुवैले विगतमा जस्तै यसपटक पनि नेता नेपालको उपयोग गर्न खोजेको आशंका गर्छन् ।

अहिले ओली र दाहालले नेता नेपालाको शक्तिलाई स्वीकारे संवाद गरेका हुन् वा उपयोगमात्रै गरेका हुन् भन्ने प्रश्नमा नेपाल निकट स्थायी कमिटी सदस्य बेदुराम भुसाल पछिल्ला भेटघाटलाई संकेत गर्दै भन्छन्, ‘शक्ति स्वीकार गर्दा भूमिका दिनुपर्ने हुन्छ । यहाँ भूमिका दिन खोजेको देखिँदैन । त्यसकारण उहाँहरुले उपयोग नै गर्न खोजेको देखिन्छ ।’

नेकपाभित्रको त्रिपक्षीय (ओली, दाहाल र नेपाल) शक्ति सन्तुलन र अंकगणितमा नेपाल निर्णायक अवस्थामा छन् । प्रतिकूल अवस्थामा ओली र दाहाल दुवैले नेपालसँग गठबन्धनको कोसिस गर्दै आएका छन् । यद्यपि धेरै मुद्दामा दाहाल–नेपाल गठबन्धन बनेको छ । ओलीले खास–खास अवस्थामा नेपालसँग भेट गरे पनि दाहाल–नेपालबीच लगातार संवाद हुने गरेका छन् । तर, ओलीसँग तनाव हुँदा दाहालले पनि नेपालसहित सचिवालयका अन्य नेताहरुसँगको भेटघाट बाक्लो बनाउने गरेका छन् ।

पछिल्लो पटक ओलीसँग संवादमा रहेका पूर्वमाओवादी समूह निकट स्थायी कमिटी सदस्य मणि थापाको बुझाईमा नेकपामा नेता नेपाल समूह अंकगणितको हिसाबले निर्णायक अवस्थामा रहेकाले दुवै समूह (ओली–दाहाल) बाट उनीसँग संवाद हुने गरेको छ । ‘उहाँको जता झुकाव हुन्छ, त्यता बहुमतको हुने स्थिति बन्छ । त्यसैले पछिल्लो विवादमा पनि दुवै पक्षले उहाँको महत्व बुझेको देखिन्छ । यस्तोमा उहाँलाई आफूतिर तान्न प्रयत्न गर्नु त्यसैको उपज हो ।’

तर, थापा अहिलेको ओली–दाहाल विवादमा राजनीतिक वैचारिक विषयभन्दा शक्ति बाँडफाँडको मुद्दा प्रमुख रहेको ठान्दछन् । भन्छन्, ‘अहिले राजनीतिक वैचारिक कुरा छैन । ‘पावर सेयरिङ’को विषय हो । परिस्थिति पनि त्यस्तै देखिन्छ ।’

राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र ‘रअ’ प्रमुखसँगको भेटले दवावमा आएका ओलीले वरिष्ठ नेता नेपाललाई ‘नरम’ बनाउने रणनीतिअनुसार पछिल्ला भेटघाट गरेको नेपाल निकट केही नेताहरु बताउँछन् ।

उनीहरुका अनुसार कम्तीमा आगामी महाधिवेशनसम्म दुवै अध्यक्ष नेता नेपाललाई दूरीमा राख्न चाहँदैनन् । गाउँदेखि जिल्लासम्म र प्रदेशदेखि केन्द्रसम्म नेपाल समूहको उपस्थिति महाधिवेशनका लागि अर्थपूर्ण हुन्छ । त्यसैले अहिले नेपालको भूमिका बढेको उनीहरुको बुझाई छ ।

ओली–दाहाल मिल्दा किनारामा

दुई अध्यक्षबीच मनमुटाव हुँदा पार्टीभित्र नेता नेपालको महत्व र भूमिका बढे पनि दुई अध्यक्षबीच मिलन हुँदा भने उनी सधैं किनारामा पर्ने गरेका छन् । स्थायी कमिटी सदस्य थापाले यसमा नेता नेपालको भूमिका पनि देख्छन् ।

दुई अध्यक्षले मात्रै नभई नेता नेपाल आफैंले पनि उपयोगको नीति अंगीकार गरेको थापाको विश्लेषण छ । उनी भन्छन्, ‘दुई अध्यक्षले उपयोग गरेको भन्दा पनि माधव नेपालले दुई वटै अध्यक्षलाई उपयोग गर्न खोजेजस्तो पनि देखिन्छ ।’ शक्तिको हिसावले नेता नेपाल त्यो अवस्था पनि छन् ।

पछिल्लो पटक भदौ २६ मा स्थायी कमिटी बैठक सकिँदा ओली र दाहालको कार्यविभाजनसहित सहमति भयो । त्यसैले बैठकमा नेता नेपालले १५ बुँदे असन्तुष्टि राखेका थिए । यद्यपि त्यसलाई उनले फरक मत भनेका थिएनन् । त्यसअगाडि पनि उनले साउन ३० मा ओली र दाहाल मिलेर कार्यदल बनाएको विषयमा पनि असन्तुष्टि राखेका थिए । नेता नेपालसहितका नेताले विरोध गरेपछि कार्यदललाई सचिवालयबाट अनुमोदन गराइएको थियो ।

विभिन्न मुद्दामा पार्टीमा तीन पटक लिखितरुपमै फरक मत लेखेका छन् । नेता प्रदेश इन्चार्ज छनोटसम्बन्धी निर्णय हुँदा ०७५ को असोज, विभाग तथा जनवर्गीय संगठनको नेतृत्व चयनसम्बन्धी निर्णयमा ०७६ को भदौमा र ०७६ कै कात्तिकमा प्रदेश प्रमुख नियुक्तिसम्बन्धी निर्णयमा फरक मत राखेका थिए ।

यो पनि

प्रकाशित : कार्तिक १४, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?