कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय सांसदहरूलाई परिमार्जित लोगो, भद्दा लोगो हट्यो 

जयसिंह महरा

काठमाडौँ — संघीय सांसदहरूले लगाउने लोगो परिमार्जन गरिएको छ । नेपालको नक्सामा भारतद्वारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि संघीय सांसदहरूले लगाउने लोगोमा नयाँ नक्सा प्रयोग गरिएको थियो । 

संघीय सांसदहरूलाई परिमार्जित लोगो, भद्दा लोगो हट्यो 

साउन अन्तिम साता प्रयोगमा आएको सांसदहरूको लोगो भद्दा देखिएको, लोगोमा प्रयोग भएको नक्सा र रङ नमिलेको तथा लोगोमा लेखिएका अक्षरमा भाषागत अशुद्धता रहेको भन्दै आलोचना भएपछि संघीय संसद सचिवालयले फिर्ता गरेको थियो । लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले पहिलेको भद्दा लोगो परिमार्जन गरेर संसद सचिवालयमा पठाएको हो ।

संघीय संसद सचिवालयका अनुसार १७० भन्दा बढी परिमार्जित लोगो घरेलुले पठाइसकेको छ । संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही सांसदहरूले नयाँ लोगो लगिसकेका छन् ।

'परिमार्जन गर्न दिएकामध्ये लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरले हालसम्म जति परिमार्जन गर्न सकेको हो त्यति आएका छन् । १७० लोगोहरू प्राप्त भएका छन्,' उनले भने, 'कतिपय माननीयहरूले परिमार्जित लोगो लगिसक्नुभएको छ । दसैंका कारण जिल्ला जानुभएकाले कमै सांसदहरूले लोगो लग्नुभएको छ । अब सम्पर्कमा आउनुहुने सांसदहरूलाई नयाँ लोगो वितरण गर्छौं ।'

३ सय ५० थान लोगो तयार पार्न लागिएको र परिमार्जित गर्न बाँकी लोगोहरू पनि तयार भइरहेको जानकारी प्राप्त भएको संघीय संसद सचिवालयका अधिकारीले बताएका छन् ।

संघीय संसदको लोगोको डिजाइन कलाकार टेकवीर मुखियाले गरेका हुन् । उनले भद्दा लोगो सार्वजनिक भएपछि आपत्ति जनाएका थिए । निर्माता र संसद सचिवालयले हतारमा आफ्नो 'रफ डिजाइन'लाई नै अन्तिम रूप दिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

यसअघि वितरण गरिएको विवादित लोगोः

अहिले परिमार्जित लोगो मुखियाको डिजाइनको अन्तिम रूपअनुसारको भएको संघीय संसद सचिवालय र निर्माता कार्यालयले दिएको छ ।

सांसदको प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ । ३ सय ५० वटा लोगोमा ८७ ग्राम सुन प्रयोग भएको र त्यसको खर्च '६ लाख ८२ हजार रुपैयाँ' भएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिएका थिए । प्रत्येक लोगोमा १ तोला चाँदीको बेस राखिएको छ । लोगो निर्माण गर्दाखेरि प्रतिलोगो ५ हजार ५ सय २७ रुपैयाँ लागेको थियो । परिमार्जन गर्दाखेरि भने लोगोको खर्च बढेको बताइएको छ ।

लोगो परिमार्जन गर्दा लाग्ने खर्चबारे त्यतिखेर संघीय संसद सचिवालय र लोगो निर्माता घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबीच विवाद भएको थियो । अहिले भने पुरानै खर्चमा लोगो तयार पारिएको दुवै पक्षले बताएको छ ।

संघीय संसद सचिवालयका सहप्रवक्ता धमलाले पहिले विनियोजन गरिएको खर्चमा नै लोगो परिमार्जन गरिएको बताए । 'लोगो निर्माणका लागि हामीले पहिले नै रकम दिइसकेका थियौं । परिमार्जन गर्दा लागेको रकम संघीय संसद सचिवालयले थप बेहोर्ने भन्ने हुन्न,' उनले भने ।

निर्माता घरेलु तथा साना उद्योग कार्यालाय, ललितपुरकी निमित्त प्रमुख उद्योग अधिकृत अम्बिका ज्ञवालीले पनि संघीय संसदले पहिला दिएको बजेटबाट नै परिमार्जनको खर्च बेहोरिएको बताइन् । 'पहिला बनाउनका लागि जुन बजेट आएको थियो त्यसबाट नै परिमार्जनको खर्च बेहोरिएको हो,' उनले भनिन् ।

परिमार्जित लोगोमा नक्सा मिलाइएको तथा झन्डा, भाषा र अन्य त्रुटिहरू पनि सच्याइएको स‌ंसद सचिवालयले बताएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : कार्तिक १३, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?