१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डाक्टर ल्याउन मासिक लाख खर्च

आनन्द गौतम

ताप्लेजुङ — सिरिजंगा गाउँपालिकाले असोज तेस्रो साता मोरङका एमबीबीएस डाक्टर भुवन सुवेदीलाई तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा नियुक्त गर्‍यो । चार वर्षको कार्यानुभव भएका सुवेदीलाई अधिकृत आठौं तहमा नियुक्ति दिइएको छ ।

डाक्टर ल्याउन मासिक लाख खर्च

यो तहअनुसार उनको तलब स्केल मासिक ४० हजार ३ सय ८० रुपैयाँ हुन्छ । भदौमा बसेको गाउँ कार्यपालिकाको बैठकले उनलाई थप मासिक ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार स्थानीय भत्ता ३ हजार ९ सय, महँगी भत्ता २ हजार, ननप्राक्टिस भत्ता ८ हजार र जोखिम भत्तासमेत गरी मासिक ५५ हजार रुपैयाँ पुग्छ । यसमा भ्रमण भत्ता थप हुन्छ । समय निर्धारण नगरी करारमा नियुक्त गरिएका डा. सुवेदीले सबै खालका बिरामी हेर्नुपर्ने सर्त गाउँपालिकाको छ । अध्यक्ष टीका गुरुङले पोस्टमार्टमको तालिम पनि दिलाउने बताए । रेडियोलोजी एक्सरे, ल्याब र यूएसजीको व्यवस्थापनमा गाउँपालिका लागेको छ ।

तीन शय्याको प्राथमिक उपचार केन्द्रमा ७ शय्या थप गर्न लागिएको छ । यसका लागि केन्द्र सरकारले ८५ लाख रुपैयाँ दिइसकेको छ । तर यो रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न पाइने छैन । पूर्वाधार निर्माण गर्नुपर्ने छ । उपचार केन्द्रमा एक जना डाक्टरको दरबन्दी छ । तर, नियुक्त भएका डाक्टर अध्ययन बिदामा विदेशमा भएकाले गाउँपालिकाले डा. सुवेदीलाई ल्याएको हो । सरकारले अर्को सरुवा नगरे डा. सुवेदीले चार वर्षसम्म यहीं रहन पाउँछन् ।

पश्चिम मेरिङदेन गाउँपालिकाले पनि एमबीबीएस डाक्टर एलिना पौडेललाई असोज अन्तिम साता नियुक्त गर्‍यो । आठौं तह अधिकृतमै नियुक्त उनले तलबबापत ४० हजार ३ सय ८० र त्यत्ति नै रकम भत्ताबापत पाउँछिन् । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार यसमा दुर्गम र भ्रमण भत्तालगायत थप हुन्छ । सबै गरेर मासिक एक लाख रुपैयाँ अनिवार्य पाउने आङदेम्बे बताउँछन् ।

तर सुवेदीले जस्तो पौडेलले जोसुकै बिरामीलाई हेर्नु र उपचार गर्नुपर्ने बाध्यता छैन । उनी तीन महिनाका लागि कोरोना संक्रमितलाई उपचार गर्न मात्रै नियुक्त भएकी हुन् । यसका लागि संघीय सरकारले गाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ । यो रकमबाट एक डाक्टर, दुई नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरिएको आङदेम्बेले बताए । मेरिङदेन–३ सान्थाक्राको स्वास्थ्य चौकीलाई अस्थायी उपचार केन्द्र बनाइएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकाले पनि सरकारले दिने तलब स्केलमा शतप्रतिशत भत्ता दिने गरी डा. मनोज नेपालीलाई नियुक्त गरेको छ । गाउँपालिका अध्यक्ष भवानी लिङदेनले कोभिड–१९ अस्थायी अस्पतालमा नियुक्ति भए पनि सबैखालका बिरामी हेर्न अनुरोध गरिएको बताए । ‘उहाँ हाम्रै गाउँपालिकाको मान्छे पनि हो,’ अध्यक्ष लिङदेनले भने, ‘सबै खालका बिरामी हेर्न थाल्नुभएको छ ।’

यी तीनबाहेक ताप्लेजुङ र पाँचथरका हरेक गाउँपालिका यतिबेला एमबीबीएस डाक्टरको खोजीमा छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्व सिटौला अबको एक महिनामा जसरी पनि डाक्टर ल्याएर गाउँपालिकाको स्वास्थ्यचौकीमा राख्ने दाबी गर्छन् । अरूले जस्तै उनको गाउँपालिकाले पनि भत्ता दिने निर्णय कार्यपालिका बैठकबाट गरेको छ । सेवा, सुविधा र सर्तसहितको विज्ञापन पनि खोलेको उनले बताए । आवेदन मागेर पनि डाक्टर नपाएको पाँचथरको फालेलुङ गाउँपालिकाले नर्स राखेर कोभिड अस्पताल सुरु गरेको छ । त्यसका लागि केन्द्र सरकारबाट आएको १० लाख रुपैयाँ दिएको छ । प्रयास जारी रहेको र डाक्टर पाउनेमा आशावादी रहेको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान बताउँछन् ।

सिरिजंगाका अध्यक्ष गुरुङले याम्फुदिनमा भएको घटनामा डाक्टरको अभाव अत्यन्तै महसुस भएको वताए । गाउँपालिका केन्द्रदेखि पैदल सात/आठ घण्टा लाग्ने उक्त स्थानमा असोज पहिलो साता एक व्यक्तिले तीन जनालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । ‘मान्छेले स्ट्रेचर, ढाकरमा बोकेर ल्याउने सम्भावना नै भएन । हेलिकप्टर मौसमका कारण बस्नैलाई कठिन भयो,’ गुरुङले भने, ‘यस्तो परिस्थितिमा डाक्टरलाई देखाउन सके एउटा सन्तोष हुने रहेछ ।’

प्रकाशित : कार्तिक १३, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?