पूर्व प्रमुखसचिव खनालको निधन

रासस

काठमाडौँ — तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

पूर्व प्रमुखसचिव खनालको निधन

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।

मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए ।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानुनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानुन प्रणाली’, ‘नेपालको कानुनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित : कार्तिक १२, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?