२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रहरीले हत्याको जाहेरी दर्ता नगरेपछि नेकपा नेता चौरसियाको शव परिवारले बुझेनन्

जिल्ला प्रहरी कार्यालय अगाडि दिनहुँ धर्ना
भूषण यादव

पर्सा — गत बिहीबार नेकपा पर्साको विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको शव अझै परिवारले बुझेका छैनन् । टाउकोमा बाँसको लाठी प्रहारले गम्भीर घाइते भएका ४२ वर्षीय चौरसियाको शुक्रबार बिहान करिब १० बजेको समयमा वीरगन्जस्थित एल.एस.न्युरो हस्पिटलमा मृत्यु भएको थियो ।

प्रहरीले हत्याको जाहेरी दर्ता नगरेपछि नेकपा नेता चौरसियाको शव परिवारले बुझेनन्

पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको हत्यामा संलग्न भएका भनिएका व्यक्तिविरुद्ध दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्तासहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । कुटपिटमा संलग्न केही व्यक्ति वीरगन्ज–११ स्थित गुप्ताको निवासमा बसिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उनको घरमा पुगेको थियो ।

बिहीबार साँझ करिब ५ बजेको समयमा नियन्त्रणमा लिइएका गुप्तालाई प्रहरीले राति ९ बजे छोडेको थियो । गुप्ता प्रहरी नियन्त्रणमा रहेको जानकारी पाएपछि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बशरुद्दीन अन्सारी पनि जिल्ला प्रहरी कार्यालय आइपुगेका थिए । अर्को पक्षका दुई जना घाइतेको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । चौरसियाको अवस्था गम्भीर बनेको खबर आएपछि मेडिकलमा उपचाररत उत्तम तिवारी र चिन्टु तिवारी भागेका थिए । हालसम्म उनीहरु फरार नै छन् ।

दुई जना अस्पतालबाटै भागेपछि प्रहरीले बशरुद्दीनलाई पनि केही बेर सोधपुछ गरेको थियो । शुक्रबार चौरसियाको मृत्यु भएपछि उनका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए । स्रोतका अनुसार जाहेरीमा संविधानसभाका पूर्वसदस्य राजकुमार गुप्ताको नाम उल्लेख गरिएको छ । प्रहरीले गुप्ताको नाम हटाएर जाहेरी ल्याउन भनको पीडित परिवारको भनाइ छ । स्रोतका अनुसार बिहीबार ‘माथि’बाटै फोन आएपछि राति ९ बजे गुप्ता र अन्सारीलाई प्रहरीले छाडेको थियो ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि नेकपा पर्साका इन्चार्ज, सचिव, गाउँपालिका अध्यक्षलगायतका नेता तथा कार्यकर्ता विगत पाँच दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइरहेका छन् । धर्नामा पूर्वमन्त्री तथा नेकपा नेता मात्रिका यादवले सहभागिता जनाएका छन् । नेकपा अध्यक्ष प्रचण्डले कात्तिक ९ मा विज्ञप्ति जारी गरी चौरसियाको हत्यमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको दाहालले बताएका छन् ।

यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक ८ मा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दवासनी गाउँपालिकाका नेकपा सचिव मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका थिए । ’नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौं ?,’ विज्ञप्तिमा भनिएको छ, ‘पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं ।’

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनास्थलमा उपस्थित नै नभएका व्यक्तिको नाममा जाहेरी आएपछि दर्ता नगरेको बताउँछन् । ‘घटनास्थलमा जो जो छन्, जो जो संलग्न छन् उनीहरुको नाम लिएर आउनुस्, हामीले कर्तव्य ज्यानमै मुद्दा दर्ता गरिदिन्छौँ भनेका छौँ,’ उनले भने, ‘तर, उहाँहरुले घटनास्थलमै नभएका व्यक्तिको नाम पनि मुद्दामा उल्लेख गर्नुभएको छ । उहाँहरुले जसलाई योजनाकार बताउनुभएको छ, त्यो त अनुसन्धानबाट खुल्नु पर्यो, कल डिटेल्समा देख्नुपर्यो, पक्राउ परेकाको बयानबाट खुल्नुपर्यो, योजना अमूर्त कुरा हो, यो अनुसन्धानबाट खुल्छ ।’ घटनास्थलबाट पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिएको डीएसपी कुँवरले जनाए ।

धर्नामा बसेका नेकपाका नेताहरुले राजकुमार गुप्ताकै योजनामा शपथ ग्रहण कार्यक्रममा झडप भएको दाबी गर्दै आएका छन् । विन्दवासनीका स्थानीय तथा नेकपाका नेता छोटेलाल यादवले राजनीतिक पूर्वाग्रहका कारण जाहेरी दर्ता नभएको बताउँछन् । ‘कुटपिटमा संलग्न मध्येका दुईजना राजकुमार गुप्ताको घरबाट पक्राउ परेका छन्, यसले पनि प्रस्ट पार्छ उनी मूख्य योजनाकार हुन्,’ उनले भने, ‘यसअघि रामचन्द्र प्यासी, आफताब आलम, सन्जय टक्ला आफै प्रत्यक्ष उपस्थ्ति भएर अपराध गरेका थिएनन्, योजनाकार प्रमाणित भएपछि अहिले कारागारमा छन् ।’ उनले जाहेरी दर्ता हुँदैमा कोही अपराधी सावित नहुने भन्दै प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित : कार्तिक ११, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?