२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको निधन

रासस

काठमाडौँ — संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको निधन

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाइ उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई बीपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?