कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सवारीसाधनमा छैन स्वास्थ्य मापदण्ड पालना

प्रकाश बराल

बागलुङ — सरकारले तोकिएका स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिएको छ तर बागलुङका सवारीचालकले भने मापदण्ड पालना गरेको देखिँदैन ।

सवारीसाधनमा छैन स्वास्थ्य मापदण्ड पालना

सार्वजनिक यातायात सञ्चालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पूरा नगरी सवारीसाधन चलाउँदा कोरोना संक्रमण जोखिम बढेको छ । मापदण्ड पालना नगरी लामो र छोटो दूरीका यातायातले धेरै यात्रु बोक्ने र चर्को भाडा असुल्ने गरेको पाइएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले बताए ।

गत भदौ २९ मा मन्त्रिपरिषद् बैठककले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालन खुला गराएको थियो तर सवारीधनी र चालकले लापर्बाही गरेको भेटिएको हो । ‘चालक नै न्यूनतम मापदण्ड पालना गर्दैनन्,’ थापाले भने, ‘यात्रुलाई मास्क र सेनिटाइजर लगाउन प्रेरित पनि गरेको भेटिएन ।’ अनुगमन क्रममा सामान्य अवस्थामा झैं गाडीमा कोचाकोच हुने गरी यात्रु राखिएको, छोटो दूरीमा दोब्बर र लामो दूरीमा तीन गुणासम्म भाडा असुलिएको पाइएको उनको भनाइ छ । खोजेपछि मात्रै लुकाएर राखेको सेनिटाइजर चालकले देखाउने गरेका छन् ।

सरकारी सवारीसाधनमा पनि सामान बोक्ने, बिदाको दिन पनि चलाउने, घुम्न लैजाने गरेको भेटिएपछि कारबाहीको दायरामा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ‘अत्यावश्यक काम परे प्रशासनको अनुमतिपत्र लिएर हिँड्न दिने नत्र शनिबार चलाउन रोक लगाइएको छ,’ उनले भने, ‘कोरोना संक्रमणबाट बच्न अपनाइएको सतर्कता र राज्यको साधन दुरुपयोग रोक्ने काममा अगुवाइ गरेका हौं ।’

निजी सवारीसाधनले पनि यात्रु बोकेर तीन गुणासम्म भाडा लिएको भेटिएको छ । त्यसमाथि ४ जनाको सिटमा ७ जनासम्म यात्रु ओसारिरहेका छन् । ‘सिट क्षमताभन्दा बढी यात्रु राखिएको छ, सुरक्षा मापदण्ड पालना पनि छैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘रातो नम्बरप्लेटको दुरुपयोग गरेर कोरोना संक्रमण भित्र्याउन खोजिएको जस्तो देखिएको छ ।’ उनका अनुसार अधिकांश सार्वजनिक यातायातका चालकले ट्राफिक प्रहरी देखेपछि मात्रै मास्क लगाउने गरेका छन् ।

कतिपयले सुरक्षा मापदण्ड पालनाका लागि सम्झाइबुझाइ गर्दा गालीगलौज गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले बताए । ‘दिएको मास्क पनि केही पर पुगेपछि फाल्छन्, आफ्नो स्वास्थ्यमा आफैं खेलबाड भएको छ,’ उनले भने, ‘सेनिटाइजर लगाउने, गाडी सफाइ गर्ने, दूरी कायम गर्ने कुरामा बढी लापर्बाही छ ।’ प्रहरी देखेपछि मात्रै सुरक्षा पेटी बाँध्ने, जाँच गरिएका ठाउँमा यात्रु ओराल्ने र केही पर पुगेपछि फेरि चढाउने गरिएको पनि पाइएको उनको भनाइ छ । यसले थप जोखिम बढाएको उनले बताए ।

यातायात व्यवस्था कार्यालय बागलुङले केही दिनअघि गरेको अनुगमन क्रममा ९० प्रतिशत चालक र सहचालकले मास्क र पन्जा नलगाएको भेटिएको हो । १५ प्रतिशत यात्रुले पनि मास्क नलगाएको, अधिकांश सवारीसाधनमा सेनिटाइजर प्रयोग नगरिएको, ५० प्रतिशत सवारीसाधनले क्षमताभन्दा धेरै यात्रु राखेको पाइएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार धेरै यात्रु राख्नेमा निजी सवारीसाधन बढी थिए । लापरबाही गरेकालाई पहिलोपल्ट पर्चा दिने र सम्झाइबुझाई पठाउने गरिएको छ । पटके भएको पाइए उनीहरूको लापर्बाही हेरेर जरिवाना तिराउने गरिएको समेत उनले बताए ।

प्रकाशित : कार्तिक ११, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?