कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङमा जीप दुर्घटना : ३ को मृत्यु, ४ घाइते

डम्बरसिं राई

खोटाङ — खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् ।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन् ।

उनीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भइरहेको साहले बताए ।

जीपका चालक उदपयुर चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?