कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'रहर भए नि यसपालि सोरठी नाच्‍न पाइएन'

माधव अर्याल

पाल्पा — ‘सिकारै खेल्न जाम, भैया लक्षमण सिकारै खेलन जाम...ए अघि लागे रामजी पछि लागे लक्षमण,  शिकारै खेलन जाम.... भैया लक्षमण सिकारै खेलन जाम, ए काँधै लिम्ला धुनकोण, काँधै लिम्ला थोकरा..सिकारै खेलन.....’ यस्तै गीत गाउँदै रौरा मैदानमा निस्कन्थे ।

'रहर भए नि यसपालि सोरठी नाच्‍न पाइएन'

बुढ्यौलीमा पनि मज्जाले गीत निकाल्ने मात्र होइन, मादल भिरेर बुरुक्क बुरुक्क उफ्रिन्थे ।

दर्शकलाई पनि नाचु नाचु बनाउँथे । मजुरा बजाउने र मादलको तालमा मादल बजाउने गरिन्थ्यो । दसैंको घटस्थापनादेखि नै ठूलो नाच अर्थात् सोरठी नाच मगर बस्तीमा सुरु हुन्थ्यो । तीजपछि सुरु भएर मंसिरको पूर्णिमासम्म नाचिने यो नाच यसवर्ष भने कोरोना कहरले गर्दा कहिकतै देखिएको छैन ।

मगर बस्ती सुनसान छ । ५२ प्रतिशत मगर रहेको यस जिल्लाका बस्ती यतिबेला सुनसान छ । ‘कोरोना कारण दसैं पनि सामान्य मनाउने भन्ने छ,’ रम्भा गाउँपालिका–२ फोक्सिङकोटका वडाध्यक्ष उमानसिंह सारुले भने, ‘हाम्रो गाउँमा पहिरोले शोक छ त्यसमाथि कोरोनाको कहरले पनि यसवर्ष कुनै पनि बस्तीमा ठूलो नाच ननचाउने भन्ने छ ।’

फोक्सिङकोटमा ८० प्रतिशत बढी मगर नै छन् । प्रत्येक बस्तीमा सोरठी (ठूलोनाच) नाचिन्थ्यो । यस वर्ष सबै टोल सुनसान बनेको उनले बताए । ‘मै आफैं पनि नाच्छुँ,’ उनले भने, ‘के गर्नु रहर भएपनि कोरोनाले गर्दा नाच्न पाइएन ।’ मगर बस्तीमा बटुक, सेल, चुकाउने लगायत परम्परागत खानाका परिकार पाक्थ्यो । यस वर्षको माहोलले मगरी बस्तीमा दसैंको रौनक नै नभएको फोक्सिङकोटका एवतकुमार सारुले बताए । जिल्लाका प्राय: सबै मगर बस्ती सुनसान छ ।

मगरबस्तीमा टोलटोलमा सांस्कृतिक कार्यक्रम हुन्थे । टोल, वडामा भलिबल प्रतियोगिता हुन्थ्यो । ‘यसपालि कोरोनाले गर्दा भलिबल प्रतियोगिता गर्न पनि सकिएन,’ मस्यामका गणेश दर्लामीमगरले भने, ‘सामाजिक सञ्जालमार्फत प्रतियोगिता गर्न नसकिएको जानकारी गराइयो । परम्परा जोगाउन पनि समस्या भएको छ ।’

पूर्वको निस्दी गाउँपालिका अन्तर्गत झिरुवास, मित्याल, ज्यामिरे, गल्धा लगायतका स्थानमा झाम्रे र कौरा लोकप्रिय छ । जल्पा, बीरकोट, देवीनगरमा पनि झाम्रे नाच्थे । माथागढीको झडेवा, गोठादी, रहवासमा पनि ठूलो नाच नाचिन्थ्यो । मस्याम, कोलडाँडा, बहादुरपुर लगायतका स्थानमा पनि यस्ता नाच लोकप्रिय छन् ।

कौरा र झाम्रेमा रमाइलो गरिन्छ । युवायुवतीले रमाइलो गर्दै नाच्छन् । तर सोरठीमा भने देवीदेवताको नाम लिएर शुभारम्भ गरिन्छ । ‘रामायण र कृष्ण चरित्र गाथालाई रातभर पनि गाउन सकिन्छ,’ तानसेन नगरपालिका–९ का मादले यमबहादुर थापाले भने, ‘तर यस वर्ष भने नाच्न सकिएन । यस्तो महामारीका बीच ननाच्ने निर्णय गरियो ।’

परापूर्वदेखि जिल्लाका मगर समुदायमा सोरठी नाच लोकप्रिय छ । स्थानीयस्तरमा ‘मारुनी’ नाच भनेर चिनिन्छ । जिल्लाको पूर्वभेगमा बढी सोरठी, कौरा, झाम्रे नाचिन्छ । मित्याल, झिरुवास, जल्पा, अर्चले, सिलुवा, ज्यामिरे, बहादुरपुर, रहवास, गोठादीमा यो नाच बढी नाचिन्छ । दोभान, मस्याम, कोलडाँडा, रामपुर, गेझा, खालीवन, फोक्सिङकोट, हुमीन, देवीनगर, कसेनी लगायतका गाउँमा प्रशस्त नाचिन्थ्यो । तर अहिले भने गाउँ सुनसान बनेको छ ।

सबैभन्दा ठूलो नाचका रुपमा सोरठीलाई लिइन्छ । रामायण, कृष्ण चरित्रका गीतलाई लोकोक्ति भाकामा गाउने चलन रहेको कोलडाँडाका सुनविर गाहाले बताए । परम्परागत लोकोक्तिलाई भाका मिलाएर गाउनु नाचको विशेषता हो । उनका अनुसार झण्डै तीन महिना नाचेपछि बन्द गर्नुपर्ने चलन पनि छ । सुरु गर्दा ‘फुकाउने’ र बन्द गर्दा ‘बन्द गर्ने’ गीत गाउने चलन नै छ । सुरु गर्दा र बन्द गर्दा अगुवा अर्थात् रौराको आवश्यकता पर्छ । ‘पहिला पहिला भारतबाट ‘लाहुरे’ आउँदा, चाडपर्व, मेलापर्वमा नाचिन्थ्यो,’ कोलडाँडाका लालबहादुर रानाले भने, ‘यसवर्ष कोरोना कहरले गर्दा नाच्नै पाइएन ।’

प्रकाशित : कार्तिक ९, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?