२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रधानमन्त्रीले 'रअ' प्रमुखसँग समकक्षीलाई जसरी भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट राजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।

प्रधानमन्त्रीले 'रअ' प्रमुखसँग समकक्षीलाई जसरी भेट्नु कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ

सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र गोयलबीच भएको भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनेका छन्, 'नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको ।'

नेपालको गुप्तचर संस्थाले गोयललाई बोलाएर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको भए मर्यादाअनुरुप हुने श्रेष्ठको धारणा छ । 'नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणका लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्थ्यो,' उनले लेखेका छन् ।

प्रधानमन्त्रीनिकट नेताहरूले गोयलसँगको भेटको बचाउ गरिरहेका बेला इतर समूहका नेताहरूले भने आलोचना गरिरहेका छन् । प्रतिपक्षी दलहरूले पनि ओली-गोयल भेटको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र गोयलबीच भएको भेटबारे सत्तारुढ दल नेकपालाई केही जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ । 'भारतको गुप्तचर संस्था 'रअ' प्रमुख सामन्तकुमार गोएल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग ‘वार्ता’ गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ,' उनले लेखेका छन्, 'हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन ।'

गोयललाई भारत सरकारले विशेष दूतका रूपमा पठाएकोबारे पनि कुनै जानकारी प्रधानमन्त्रीको तहबाट नआएको श्रेष्ठको भनाइ छ । 'विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियारी प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन,' उनको आशंका छ, 'त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीतको यस्तो भेट किन ? यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ ।'

गोयल गत बुधबार काठमाडौं आएका थिए । उनले सोही राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए । गोयल बिहीबार बिहान दिल्ली फर्किएका थिए । प्रधानमन्त्रीले गोयललाई भेटेको बारे सार्वजनिक रूपमा आलोचना बढेपछि प्रेस सल्लाहकार थापाले प्रेस नोट जारी गरेका थिए ।

प्रकाशित : कार्तिक ९, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?