सुन्धाराको मस्जिद तोडफोड गर्ने पक्राउ- समाचार - कान्तिपुर समाचार

सुन्धाराको मस्जिद तोडफोड गर्ने पक्राउ

डोजर लगाइएको सय वर्ष पुरानो मस्जिदको पुन: निर्माण आजै शिलान्यास
कान्तिपुर संवाददाता

काठमाडौँ — सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा शनिबार बिहान तोडफोड भएको छ । शनिबार बिहान जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सय वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइन्छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद रहेको काठमाडौं महानगरपालिका-२२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सँधै मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् । मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् । सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।

यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुन: निर्माण सुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।

प्रकाशित : कार्तिक ८, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

अस्पतालहरुले भर्ना नलिएपछि आइसोलेसन सेन्टर फर्काइएका युवकको मृत्यु

प्रदीप मेन्याङ्बो

धरान — अस्पतालहरुले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसन सेन्टरमा फर्केर आएका ३६ वर्षीय एक युवकको शनिबार बिहान मृत्यु भएको छ । मृतक कोरोना संक्रमित सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङ्गेका हुन् ।

दुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । तर कोसीले भर्ना लिन नमानेपछि नोबेल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि भर्ना गर्न अनुरोध गरे पनि भर्ना नलिएको चतरास्थित आइसोलेसनका इन्चार्ज प्रमोद यादवले बताए ।

उनका अनुसार नोबेलले आईसीयू र भेन्टिलेटर खाली नभएको बताउँदै भर्ना नलिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने प्रयास गरिएको थियो । तर प्रतिष्ठानमा पनि आईसीयू र भेन्टिलेटर अभाव भएपछि फर्काएर चतराको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

यादवले भने, 'यहाँको आइसोलेसनमा राति ११ बजेतिर ल्याइपुर्‍याएर अक्सिजन सिलिन्‍डरमार्फत अक्सिजन दिँदै राखियो । तर निमोनिया पनि भएकाले त्यस्तो सिलिन्डरको अक्सिजनले मात्र भएन । थप उपचार गर्न सक्ने यो आइसोलेसनमा नभएपछि शनिबार बिहान १० बजेर ३० मिनेटमा उनको मृत्यु भयो ।'

प्रकाशित : कार्तिक ८, २०७७ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×